झीलहरूको अध्ययन गर्न गएको टोली पुग्यो गुरुदोङमार झील

IMG-20240906-WA0257

मंगन: उत्तर जिल्लामा रहेको हिमतालको अध्ययन गर्न पुगेको टोलीले आज गुरुदोङमार झील पुगेर त्यसको ताजा अवस्थाबारे तथ्यहरू संकलन गरेको छ। गुरूदोङमार पुगेका अध्ययन टोलीलाई आज लाचेन गुम्बा, लाचेन जुम्साका धर्मावलम्बी, गुरु रिन्पोछेको आशीर्वाद लिनको लागि अभियान टोलीका सदस्यहरूले परम्परागत प्रार्थना समारोहमा भाग लिएका थिए। अभियान टोलीले १८,००० फिट उचाइमा रहेको खाङ्चुङ सो झीलको प्रारम्भिक मूल्याङ्कन गऱ्यो, जुन सिक्किमको सबैभन्दा ठूलो झील हो, जसको लम्बाइ ३ किलोमिटर भन्दा अधिक रहेको छ। खाङ्चुङ सो झील टिस्टा खाङ्त्से ग्लेशियरले भरिएको छ र तीव्र गतिमा बढिरहेको छ भने अन्तर्राष्ट्रिय सिमानाबाट मात्र ५०० मिटरको दूरीमा अवस्थित रहेको अध्ययन टोलीले जानकारी गराएको छ। यस टोलीले भोलि शनिबारको दिन शाको छो झीलको अध्ययन गर्ने योजना बनाएको छ।
उल्लेखनीय छ, गत केही दिन अघि उत्तर जिल्लामा अवस्थित १६ वटा झीलको अध्ययन गर्नको निम्ति भारत सरकार र सिक्किम सरकार संयुक्त प्रयासमा ३५ जना सदस्यीय टोली उत्तर जिल्ला प्रस्थान गरेका थिए। यस टोलीमा सिक्किम साथै भारत सरकारको विभिन्न विभागमा कार्यरत वैज्ञानिक साथै विशेषज्ञहरू सामेल रहेका छन्। गत वर्षको ४ अक्टोबरको दिन उत्तर जिल्लाको लोनार्क झील फुटेर त्यसको प्रत्यक्ष असर उत्तर जिल्ला लगायत पूर्व जिल्लामा पनि परेको थियो भने पश्चिम बंगालको दार्जीलिङमा पनि यसले प्रभावित तुल्याएको थियो। विशेष गरेर टिस्टा नदीको जलस्तरमा वृद्धि भएपछि यसले राज्यमा धेरै धनजनको क्षति पुऱ्याएको थियो। यसर्थ निकट भविष्यमा यस प्रकारको घटना नहोस् भन्ने ध्येयले भारत सरकार र सिक्किम सरकारको पहलमा एउटा अध्ययन टोली गठन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement