सोरेङ: सोरेङ जिल्ला अन्तर्गत नयाँ बजार पुलिसले पत्नीको हत्याको आरोपमा पतिलाई पक्राउ गरेको छ। पिडीतको पक्षबाट गरिएको प्राथमिकीको आधारमा नयाँ बजार पुलिसको सक्रियतामा आरोपीलाई पक्राउ गरिएको हो। घटना क्रम अनुसार बिहीबार बिहान बैगुने निवासी कर्ण बहादुर राईले नयाँ बजार थानामा प्राथमिकी दर्ता गर्दै हेम चन्द्र राईले आफ्नो पत्नीको हत्या गरेको उल्लेख गरेका थिए। पुलिसले जानकारी गराए अनुसार बैगुनेमा बस्दै आएका हेम चन्द्र राईले पत्नी मिरा राईको हत्या गरेपछि भाग्ने कोसिस गरिरहेका थिए। आरोपी राईको मूल घर दार्जीलिङको नेगी बस्ती रहेको छ भने उनले आफ्नो पत्नीलाई ढुङ्गाले अनुहारमा प्रहार गरेपछि पत्नीको मृत्यु भएको हो। यस घटनालाई गम्भीरतापूर्वक लिँदै नयाँ बजार पुलिसले आरोपीको खोजी गरिरहेको थियो भने पुलिसले धेरै परिश्रम गरेपछि अन्ततः आरोपीलाई पक्राउ गर्न सफल बनेको बताइएको छ। आरोपीलाई अहिले पुलिसले केरकार गरिरहेको छ भने न्यायालयमा पेश गरेपछि रिमाण्डमा लिने जानकारी गराएको छ।









