पाक्योङ: गत अप्रेल महिनामा सम्पन्न विधानसभा अनि लोकसभा चुनाउमा प्रयोग गरिएका इलेक्ट्रोनिक भोटिङ मशीन र भोटर भेरिफायबल पेपर अडिट ट्रेल (भीभीप्याट) मशीन आज विशेष सुरक्षाबीच पाक्योहबाट गान्तोक जिल्ला प्रशासनिक केन्द्रमा सागरिएको छ। पाक्योङ जिल्लाअन्तर्गत विभिन्न मतदान केन्द्रहरुमा प्रयोग गरिएको उक्त मशीनहरु डिक्लिङ सिनियर सेकेण्डरी स्कूल र भवन तथा आवास विभागको स्ट्रङ्ग रुममा राखिएको थियो। आज जिल्ला चुनाउ अधिकारीहरुको उपस्थितिमा सारिएको हो। यसअवसरमा पाक्योङ जिल्लाका जिल्लापाल अगवाने रोहन रमेश लगायत जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरु, चुनाउ विभागका अधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सिक्किम पुलिसका अधिकारीहरु उपस्थित थिए। डिक्लिङ सिनियर सेकेण्डरी स्कूल र भवन तथा आवास विभागको स्ट्रङ्ग रुम सिक्किम पुलिस र आईआरबीको सुरक्षा निगरानीमा रहेको थियो। स्थानान्तरण प्रक्रिया सुरक्षाकर्मीहरुको सक्रियतामा भएको थियो।











