भद्रपुर: आफ्नै घरमा काम गर्ने बालिकामाथि ३ वर्षदेखि लगातार बलात्कार गर्दैआएको आरोपमा ५४ वर्षीय एक पुरुषलाई घरबाटै पक्राउ गरिएको छ। आफ्नै घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी बालिकामाथि बलात्कार गरेको आरोपमा काठमांडू महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रबाट ती पुरुषलाई पक्राउ गरिएको हो। काठमांडू महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रम विरुद्धको अभियान अन्तर्गत महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४, र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनकै घरबाट पक्राउ गरिएको हो। बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा पक्राउ गरिएको काठमांडू महानगरपालिकाले जनाएको छ। गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रूपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन्। उनी अहिले १७ वर्षकी छिन्।











