भद्रपुर: तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ। योसँगै आगामी महिनादेखि धरहरा चढेर कठमांडू नियाल्ने सर्वसाधारणको चहानापूरा हुने भएको छ।
सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो। मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ। रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ। ‘पछिल्लो समय थपिएको मितिअनुसार हामीसँग केही समय अझै बाँकी छ। धरहरा सञ्चालनमा ल्याउने मिति तय भएसँगै सो अनुसार काम गरिरहेका छौँ,’ सिंहले भन्नुभयो, ‘सुन्धाराबाहेकका काम गर्नुपर्ने हो। ती काम ३ असोजभित्र सक्छौँ।’ उहाँका अनुसार बिजुली बत्तीको कामबाहेक अन्य काम सकिसकेको छ। निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबरमा सकिँदैछ।
धरहरा सञ्चालनमा प्रधानमन्त्री ओलीले नै चासो दिएपछि पछिल्लोपटक थपिएको मितिभन्दा अगाडि नै निर्माण कम्पनीले काम सक्न लागेको जनाएको छ। उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले २९ जुलाईमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।
धरहरा सञ्चालनमा आउने भएपनि धरहरा परिसरमै रहेको सुन्धारा पुनर्निर्माण भने सुरु नै भएको छैन। निर्माण कम्पनीले सुन्धारा र भूकम्पका कारण ढलेको धरहराबाहेकको क्षेत्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने जनाएको छ। सम्बन्धित निकायको बेवास्ताका कारण सुन्धारा खण्डहर बनिरहेको छ भने पुरानो धरहरालाई जस्तापाताले ढाकेर राखिएको छ।
सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग भने सुन्धारामा प्राकृतिक रूपमै पानी ल्याउने गरी काम गर्ने जनाएको छ। विभागका उपमहानिर्देशक कोषनाथ अधिकारीकाअनुसार धरहरा सञ्चालनमा आउनुभन्दा अघि विभागबाट पार्किङ, बगैँचालगायतमुख्य काम हुनेछन्। त्यसपछि बल्ल सुन्धारा पुनर्निर्माण हुनेछ। ‘स्थानीयवासी र पुरातत्व विभागले पटक–पटक हस्तक्षेप गरेपछि सुन्धारा पुनर्निर्माण ढिलो भइरहेको हो। म आफैँ पनि सुन्धारा बनाउने प्रस्ताव लिएर पुरातत्व विभाग गएको थिएँ, तर अहिलेसम्म स्वीकृति पाइएको छैन। सुन्धारा पुनर्निर्माणमा इच्छा त देखाएका छन्, तर अहिलेसम्म काम सुरु गरेका छैनन्,’ अधिकारीले भन्नुभयो, ‘विभाग आफैँले पनि सुन्धारा बनाउन इच्छा देखाएको छ।’
सुन्धाराको पुरानो संरचनाभत्काएर पुनर्निर्माण गर्न लागेपछि दुई वर्षअघि स्थानीयवासी आन्दोलित भएका थिए। स्थानीयलाई काठमांडू महानगर र पुरातत्व विभागले समर्थन गरेको थियो। निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गरेर सो ट्यांकीको पानी सुन्धारामा खसाल्ने योजना बनाएको थियो। तर, चौतर्फी विरोध भएपछि उक्त काम रोकिएको थियो।
१३ दिनपछिबाट धरहरा सञ्चालनमा ल्याउने भनिए पनि यसको सञ्चालन मोडालिटी भने अझै तयार भएको छैन। धरहरा कसरी, कसले र कुन रूपबाट सञ्चालन हुन्छभन्नेबारे मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने उपमहानिर्देशक अधिकारी बताउछन। ‘धरहरा सञ्चालनको मोडालिटीबारे केही छलफल भएको सुनेको छु। तर,थप जानकारी छैन,’ अधिकारीले भने।
२४ अप्रैल २०२२ मै प्रधानमन्त्री ओलीले धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए। उद्घाटन गरेको तीन वर्ष बितिसक्दा पनि सर्वसाधारणले धरहरामा प्रवेश पाउन सकेका छैनन्। ऐतिहासिक सम्पदा भए पनि धरहरा पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा भएको छ। यस भवनको तीन तलासम्म सवारी पार्किङस्थल छ। जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ। आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो।











