ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

IMG-20240906-WA0004

भद्रपुर: नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ। शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ। आर्थिक वर्ष २०२४/२०२५ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ। विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ।
‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ व्यवस्थापन अधिकृत शेर्पाले भने , ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ। त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं।’ सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ। टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान्छ। हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागका व्यवस्थापन शाखा प्रमुख शेर्पा बताउछन।
ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (अक्टूबर- दिसंबर ) र दोस्रो सिजन (फारबरी -अप्रैलमा शिकार हुँदै आएको छ। विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन्। तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ।
साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ। नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन्।
ढोरपाटन शिकार आरक्ष १९८७ मा स्थापना भएको थियो। यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ। मुख्य कार्यालय भने बागलुङको ढोरपाटनमा पर्छ। आरक्षको सुरक्षाका लागि २०१५ देखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement