जोरथाङ: जोरथाङमा आयोजित ३१औं नेपाली भाषा मान्यता दिवस समारोह समितिको तत्वावधानमा १८ अगस्टदेखि आरम्भ भएको तीन दिवसीय नेपाली भाषा मान्यता दिवस विविध साहित्यिक र साँस्कृतिक कार्यक्रमबिच आज समापन भएको छ। आजको कार्यक्रममा राज्यका पर्यटन विभागका मन्त्री बीएस पन्त प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँ साथमा समारोह समितिका प्रमुख संरक्षक एवं मन्त्री एमएन शेर्पा, समारोह समितिका संरक्षक एवं विधायकगण क्रमश: सुनिता गजमेर, आदित्य गोले र केएस लेप्चा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, विभिन्न विभाग र बोर्डमा सल्लाहकार र अध्यक्षगण, एनजीएनपी अध्यक्ष पवित्र मानवसहित पार्षदगण, भूतपूर्व विधायक, सिक्किम अकाडमीका अध्यक्ष एसआर सुब्बा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, जोरथाङकी एसडीएम एवं समारोह समितिका सभापति सलोनी प्रधान, साहित्यकार, नेपाली भाषा अनुयायी, विभिन्न संघ संस्थानका प्रतिनिधि, विभागीय अधिकारीगण, शिक्षक-शिक्षिक, विद्यार्थी र भाषाप्रमिको उत्साहजनक उपस्थिति थियो।
कार्यक्रममा स्रोत वक्ताको रूपमा अनिता निरौलाले नेपाली भाषा मान्यता आन्दोलन र वर्तमानमा भाषाको अवस्थामाथि आज वार्ता प्रस्तुत गरिन्।
यहाँ आयोजित ३१औं नेपाली भाषा मान्यता दिवस समारोह समिति जोरथाङले भर्खरै भारतीय नेपाली कवितामा राष्ट्रिय चेतनामा विद्यावारिधि (पीएचडी) को उपाधि प्राप्त गरेका डा. रत्न बहादुर रसाइलीलाई अभिनन्दन जनाएको छ। सिक्किम विश्वविद्यालयको नेपाली विभागबाट प्रोफेसर डा. कविता लामाको शोध निर्देशनमा रसाइलीले भारतीय नेपाली कवितामा राष्ट्रिय चेतना विषयमा विद्यावारिधि गरेका हुन्। सोरेङ जिल्लास्थित दोदक निवासी पिता कर्णबहादुर रसाइली र माता सवीरमाया रसाइलीका छोरा रत्नबहादुर रसाइलीले सिक्किम विश्वविद्यालयको नेपाली विभागबाट पीएचडी-को शोध अध्ययन सफलतापूर्वक पुर्ण गरेर डा. उपाधि प्राप्त गरेका हुन्। डा. रसाइलीले गाउँकै सरकारी स्कूलबाट माध्यमिक तहको परीक्षा उत्तिर्ण गरेर पश्चिम सिक्किमकै बढियोखोप सरकारी उच्चतर माध्यमिक स्कूलबाट उच्च माध्यमिक तहको पढाई पुरा गरेका हुन्। सन् २००९-२०१२ मा सिक्किम सरकारी महाविद्यालय तादोङबाट स्नातक स्तरको अध्ययन पुरा गरेका हुन्। सिक्किम विश्वविद्यालयबाट एमए (नेपाली), एम.फिलको अध्ययन पुरा गरेर सन् २०१७-देखि पिएचडी शोध अध्ययन सुरु गरेर पाँच वर्षपछि मार्च २०२२-मा पिएचडी शोधप्रबन्ध (थेसिस) सिक्किम विश्वविद्यालयमा बुझाएका थिए। गतः १० अगस्त २०२२-को दिन विश्वविद्यालयमा आफ्नो पीएचडी थेसिसको भाइवा दिएर उनले डा. (डाक्टर अव् फिलोसफी) सफलतापूर्वक प्राप्त गरेका हुन्।
नेपाली भाषा साहित्यसम्बन्धी उनका लेखहरू विभिन्न पत्र-पत्रिकालगायत शोध जर्नलतिर प्रकाशित छन्। धेरैवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरूमा शोध पत्र प्रस्तुत गरिसकेका छन्।
भारतीय नेपाली कवितामा राष्ट्रिय चेतनाको शोध अध्ययन गर्ने उनी पहिलो शोधार्थी रहेका छन्।

आज नेपाली भाषा मान्यता दिवसको अवसरमा ६ वटा पुस्तकहरुको पनि विमोचन गरियो।
साहित्यकार बीरभद्र कार्कीढोलीको प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषांक, कवि केबी ठटालको समसामयिक संकलन ‘अनन्त’ र कविता संग्रह ‘इतिहास विनाको देश’, लेखक पुष्कर लिम्बुको कथा संग्रह ‘नियती’, डा. एसके राई र बेन कुमार छेत्रीद्घारा सम्पादन गरेका साहित्यिक कृतिहरु आज लोकार्पण गरिएको हो। उक्त साहित्यिक कृतिहरु मुख्य अतिथि मन्त्री बीएस पन्त, विशिष्ट अतिथि मन्त्री एमएन शेर्पा, विधायिका सुनिता गजमेर, विधायक आदित्य गोले, केएस लेप्चा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, नयाँ बजार-जोरथाङ नगर पञ्चायत (एनजेएनपी)-का अध्यक्ष पवित्र मानव र समारोह समितिका अध्यक्ष एवं जोरथाङकी एसडीएम सलोनी प्रधानको उपस्थितिमा लोकार्पण गरिएको थियो।
यहाँ राखिएको प्रतियोगितात्मक अन्तर समष्टि स्तरीय कविता वाचन, कथा, गायन, नृत्य र विभिन्न जात गोष्ठीका पहिरन प्रतियोगितामा बिजेताहरुलाई आयोजक समितिले पुरस्कृत गर्यो।
कार्यक्रममा मुख्य अतिथि मन्त्री पन्तले छोटकरीमा सम्बोधन गर्ने क्रममा ३१ औं नेपाली भाषा मान्यता दिवसको शुभकामना व्यक्त गर्दै नेपाली भाषा मान्यताको आन्दोलनका भाषा संग्रामीहरुले पुर्याएका योगदान र भूमिकालाई कहिले पनि भूल्न हुँदैन भने।