गान्तोक: “आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो।” यो मन्तव्य हो सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पदमा पदोन्नति भएकी प्रो. डा. नम्रता तामाङ (थापा)- को हो। उनलाई आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा पहिलो गुरु-गौरव सम्मान प्रदान गर्योि। शिक्षक दिवसको अवसरमा प्राचार्य डा देवव्रत पुरोहित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा आजको प्राविधिक उन्नति र प्रगतिको पराकाष्ठ समयमा गुरुको भूमिका चुनौतिपूर्ण रहनाका साथै साहसिक रहेको बताए। शिक्षण व्यवसाय चाहेर हुने नभई चुनेर मात्र पाइने उल्लेख गरे।
शिक्षक प्रतिनिधिका रूपमा आफ्नो मन्तव्य राख्दै डा. प्रमिला छेत्रीले कलेजमा विद्यार्थीहरूले शिक्षकका लागि देखाएको सौहार्दताले अभिभूत बनाएको र शिक्षक-शिष्यको सुमधुर सम्बन्धले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। नेपाली विभागका विभागाध्यक्ष डा. उदय छेत्रीले गुरु-गौरव सम्मान स्थापनाको औचित्यमाथि प्रकाश पार्दै प्राचार्यको उदारमना भावकै कारण यो कार्यक्रम र गुरु-गौरव सम्मानको परिकल्पनाले साकार रूप पाउन सफल भएको बताए। महाविद्यालयको पहिलो गुरु- गौरव सम्मानकी प्रापक प्रोफेसर डा नम्रता तामाङ थापाले उक्त सम्मानले आफूमाथि ठुलो उत्तरदायित्व सुम्पेको अनुभव भएको बताइन्। आफ्नो कामप्रति निष्ठापूर्वक लगनशील भए अवश्य सम्मानित हुने विश्वास लिएर अध्ययन अध्यापन गर्ने सद्विचार साझा गरिन्।
नेपाली विभागको यस आयोजनमा सम्पूर्ण कार्यक्रमको सञ्चालन नेपाली विभागकी सम्मान पाँचौँ सत्रकी विद्यार्थी पूजा छेत्रीले गरेकी थिइन्। कार्यक्रमलाई तेस्रो सत्र नेपाली सम्मानकी विद्यार्थी सुमित्रा शर्माले स्वागत जनाएकी थिइन्। कार्यक्रममा लिम्बू, भोटिया र नेपाली विभागका विद्यार्थीहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए। कार्यक्रमलाई डा टेकबहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।