खरसाङ: जीटीएको हर्टिकल्चर विभागबाट मिरिक महकुमा अन्तर्गत सौरेनी समष्टीको चियाबारी क्षेत्रमा पनि ६६ परिवारहरूलाई पोलि हाउस वितरण गरिएकोमा भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले धन्यवाद दिएका छन्। खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले आज एक भिडियो जारी गर्दै जीटीएको हर्टिकल्चर विभागबाट सौरेनी समष्टीको चियाबारी क्षेत्रमा पनि गरिखानेलाई प्रथमपल्ट पोलि हाउस वितरण गरिदिएकोमा जीटीए प्रमुख अनित थापा र जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीलाई धन्यवाद दिएका छन्। दुवैले बताए अनुसार चियाबारी क्षेत्रमा पोलि हाउसको लागि कागज पत्रहरू संकलन गर्दा धेरै समस्या भोग्न परेको र यस अवस्थामा प्रत्येकको घर बारीमा बगान प्रबन्धकलाई नै लगेर बारी देखाएर अनुमति प्राप्त गरेको जानकारी गराएका छन्। त्यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले विगत केही दिनदेखि समस्या झेलिरहेको लङ्भ्यु चियाबारीको समस्या विषयमा भोलि ६ सेप्टेम्बरमा सिलगढीमा सबै ट्रेड युनियनहरूको उपस्थितिमा सभा हुने भएको पनि जानकारी गराएका छन्। उनले विगतको सभामा मालिक पक्ष उपस्थित नभएकोले सभा निष्कर्षमा पुग्न नसकेको र अब भोलि ६ सेप्टेम्बरमा हुने सभामा समस्या समाधान हुने आशा गरिएको बताएका छन्।










