पेरिस: भारतका प्यारा धनुर्धर (आर्चर) हरविन्दर सिंहले पेरिस प्यारालम्पिक खेलहरूमा इतिहास रचे। हरविन्दरले पुरुषहरूका व्यक्तिगत रिकर्व एफ५१ स्पर्धामा स्वर्ण पदक जितेर ठूलो उपलब्धि हासिल गरे। ओलम्पिक या प्यारालम्पिकमा यो कुनै पनि भारतीय धनुर्धरको आर्चरीमा पहिलो स्वर्ण पदक हो। हरविन्दरले ओपन रिकर्वको फाइनलमा पोल्याण्डका ल्यूकास सिजेकलाई ६-०-ले पराजित गरी इतिहास रचे। यसअघि उनले पुरुषहरूका रिकर्व ओपन स्पर्धामा लगातार चारवटा जीतको साथ फाइनलमा स्थान बनाएका थिए। उनले क्वार्टर फाइनलमा विश्वका नवौं नम्बरका खेलाड़ी कोलम्बियाका हेक्टर जूलियो रामिरेजलाई पराजित गरेका थिए। त्यसपछि उनले सेमिफाइनलमा ईरानका ममोहम्मद रजा अरब अमेरीलाई ७-३-ले पराजित गरेका थिए। यसरी उनले भारतलाई यी खेलहरूमा चौथो स्वर्ण पदक दिलाए।
हरविन्दरको जन्म २५ फरवरी १९९१-मा हरियाणाको कैथलमा भएको थियो। अजीत नगरको किसान परिवारमा जन्मिएका हरविन्दरलाई डेढ़ सालको उमेरमा डेंगू भएको थियो अनि त्यसको उपचारको निम्ति इञ्जेक्शन लगाइएको थियो। दुर्भाग्यले त्यस इञ्जेक्शनको कुप्रभावहरूले उनको खुट्टाको गतिशीलता समाप्त भएको थियो। शुरुवाती चुनौतीहरूपछि उनले धनुकाँड़ खेल शुरु गरेका थिए अनि २०१७ प्यारा आर्चरी वर्ल्ड च्याम्पियनशीपमा पदार्पण गरी सातौं स्थान हासिल गरेका थिए। त्यसपछि उनले २०१८ जकार्ता एशियन प्यारा खेलहरूमा स्वर्ण पदक जितेका थिए। हरविन्दरले ३ साल अघि टोक्यो प्यारालम्पिकमा काँस्य पदक जितेर इतिहास रचेका थिए।