गान्तोक: सिक्किम सहकारी संघ (सिकन) को नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत १० जना बोर्डका सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
पाकिम जिल्ला अन्तर्गत असम लिञ्जेस्थित सिकनको प्रेक्षागृहमा आज आयोजित शपथ ग्रहण समारोहमा मुख्य अतिथिकोरूपमा ग्रामीण प्रवन्धन एवम् विकास विभाग साथै सहकारी विभाग मन्त्री अरुण उप्रेती मुख्य अतिथि थिए। विशिष्ठ अतिथिको रूपमा वन्य एवम् पर्यावरण विभाग मन्त्री पिन्छो नामग्याल लेप्चा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री अरूण उप्रेतीले सर्वप्रथम सिकनका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत बोर्ड अफ् डायरेक्टर्सका दसजना सदस्यहरूलाई बधाई एवम् शुभकामना दिँदै भविष्यमा नयाँ बोर्डले राम्रो काम गर्ने आशा व्यक्त गरे। यस कार्यक्रममा आफू उपस्थित हुन पाउनु सौभाग्य रहेको बताए। सहकारी आन्दोलन भनेको केवल आर्थिक विकासको साधन मात्र नभएर यसले समाजमा एकता, सहकार्य र सामूहिक उत्तरदायित्वको भावनाको विकास गर्ने उनले जानकारी गराए।
मन्त्री उप्रेतीले सिक्किममा सहकारी आन्दोलनको एक लामो र गर्विलो इतिहास रहेको बताउॅंदै यसले यहाँका जनतालाई आर्थिक, सामाजिक, संस्कृतिक मण्डलीको बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। आज उनीहरूले महत्वपूर्ण कार्यभार सम्हालेको र उनीहरूको नेतृत्वमा सिकन नयाँ उचाईमा पुग्न सक्ने आशा व्यक्त गरे।
उनले सिकनका सदस्यहरूको प्रतिवद्धता, निष्ठा र दुरदर्शिताले आज संस्थालाई प्रभावकारी बनाउन सक्ने बताए। आज यहाँ सिकनका प्रतिनिधिहरूले राखेको माग पूरा गर्ने आश्वासन दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सञ्चालित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार कुरा गर्नुभन्दा अधिक काममा विश्वास गर्ने सरकार रहेको बताए।
यसै क्रममा सिकनका नवनिर्वाचित अध्यक्ष मंगलजीत राईले आफ्नो सम्बोधनमा सिकनको निम्ति आफूमाथि विश्वास गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिए। सिक्किम सरकारले शुरू गरेको सुनौलो सिक्किम समृद्ध सिक्किमलाई सफल तुल्याउनको निम्ति सहकारी आन्दोलनले पनि अहम भूमिका निर्वाह गर्न सक्ने उनले बताए।