नाम्ची: नाम्ची जिल्लाको महिला एवम् बाल विकास विभाग र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आज सातौं राष्ट्रीय पोषण माहको शुभारम्भ गरियो। यस अवसरमा नाम्ची सेन्ट्रल पार्कदेखि टर्च मार्च शुरू भएर जिल्ला प्रशासनिक केन्द्रमा पुगेर समापन भएको थियो। कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिको रूपमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ,अतिरिक्त जिल्लापाल (मुख्यालय) निम पिन्छो भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आजको यस कार्यक्रमको मुख्य थिम एनिमिया ग्रोथ मनिटोरिङ, कम्पलीमेन्ट्री फिडिङ, पोषण भी पढाई भी रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि थापाले बालबालिका र महिलाको स्वास्थ्य र शिक्षामा सुधारको महत्वमाथि प्रकाश पारिन्।
उनले समाजबाट अन्धकार र नकारात्मकताको उन्मूलनको प्रतिनिधित्व गर्दै पोषण मशाल मार्चको प्रतीकात्मक महत्वबारे बताइन्।
यसबाहेक, उनले आंगनवाडी कार्यकर्ता र सहयोगीहरूको समर्पणको प्रशंसा गर्दै वात्सल्य योजना सहित मुख्यमन्त्रीद्वारा प्रस्तावित विभिन्न महिला केन्द्रित योजनाबारेमा छलफल गरिन्। उनले कोदोको सेवनबाट हुने फाइदाबारे पनि प्रकाश पारिन्। यसै क्रममा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले सर्वप्रथम आशा र आँगनवाडी कार्यकर्ताहरूलाई उनीहरूको समर्पणको लागि बधाई दिँदै पोषन माहलाई माथि उठाउन निरन्तर एकता र प्रयासलाई प्रोत्साहन गरिन्। उनले यस पहलको सफलताका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा विचार व्यक्त गरिन्।यसै क्रममा अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरेले पोषण माहसँग विगतका अनुभवहरू प्रतिबिम्बित गर्दै कार्यक्रममा प्रवर्द्धन गरिएको स्वास्थ्य अभ्यासहरूको निरन्तर पालन गर्नुपर्ने विषयमा सबैको ध्यान आकर्षित गरे।