गान्तोक: लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले आज संसदको एनेक्स एक्सटेन्सन भवनमा आयोजित एस्टिमेट्स कमिटीको महत्त्वपूर्ण बैठकमा भाग लिए। बैठक डा सञ्जय जैसवालको अध्यक्षतामा भएको हो। जसमा भारत सरकारको ऊर्जा मन्त्रालयका विभिन्न योजनाबारेमा छलफल भएको थियो। सांसद सुब्बाले नवीकरणीय उर्जाको महत्वमाथि बल दिँदै जलवायु परिवर्तनको बढ्दो प्रतिकूल असरबारे बताए। उनले भने, जलवायु परिवर्तनको असर महसुस गर्ने हामी पहिलो पुस्ता हौं भने यसबारे केही गर्न सक्ने अन्तिम पुस्ता हौं। बलियो नीतिमार्फत नवीकरणीय ऊर्जा स्रोतहरू विस्तार गर्न भारत सरकारको प्रतिबद्धताले देशलाई लाभान्वित बनाउने सांसद सुब्बाले बताए। उनले आफू जलवायु परिवर्तनमाथि गम्भीरतासित लागिपरेको भन्दै जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूलाई न्यूनीकरण गर्ने दिशामा सक्रियता देखाउनुपर्ने विचार पनि बैठकमा राखेका थिए। सांसद सुब्बाले सिक्किम सरकारको हरित र दिगो राज्य अभियानबारे पनि प्रकास पारे। बैठकमा चर्चा गर्दै डा. सुब्बाले ऊर्जा मन्त्रालयअन्तर्गतका विभिन्न योजनाको कार्यान्वयनमा पर्यावरणमाथि भएको कार्यप्रति पनि सन्तोष व्यक्त गरे। डा. सुब्बा वर्ष २०२४-२५ का लागि संसदको एस्टिमेट्स कमिटीको सदस्यका रुपमा मनोनित भएका हुन्। यो कमिटी एउटा महत्त्वपूर्ण संसदीय समिति हो, जसलाई भारत सरकारका विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित एस्टिमेट्स तथा अनुमानहरू जाँच्ने जिम्मेवारी दिइएको छ।