दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा संकटा फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत बुधवार खेलिएको म्याचमा संकटा फूटबल क्लबले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट केवल थापाले ११औं, अनमोल राईले ३८औं र सदीप दर्जीले ८५औं मिनटमा गोल गरे। यसरी युनाइटेड दार्जीलिङबाट गणेश लिम्बुले १३औं र वांगदेन तामाङले ६४औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।