दुबई: बंग्लादेशविरुद्ध पहिलोपल्ट टेस्ट सीरीज गुमाएपछि पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को टेस्ट ऱ्याङकिंगमा झरेर आठौं स्थानमा पुगेको छ अनि टीमको रेटिंग १९६५ पछि पहिलोपल्ट आफ्नो न्यूनतम स्तरमा पुगेको छ। पाकिस्तानले पहिलो टेस्टमा १० विकेटले अनि दोस्रो टेस्टमा ६ विकेटले हारको सामना गर्नु परेको थियो। आईसीसीले आफ्नो वेबसाइटमा भनेको छ, बंग्लादेशविरुद्ध घरेलु मैदानमा सीरीज गुमाएपछि पाकिस्तान आईसीसी पुरुष टेस्ट टीम ऱ्याङकिंगमा २ स्थान झरेर आठौं स्थानमा पुगेको छ। वेबसाइट अनुसार, पाकिस्तानको टीम सीरीज शुरु हुन अघिसम्म छैटौं स्थानमा रहेको थियो तर लगातार हारले उनीहरू वेष्ट इण्डिजभन्दा तल आठौं स्थानमा पुगेका छन्। पाकिस्तानसँग अहिले ७६ रेटिंग पोइण्ट्स रहेको छ। पाकिस्तान १९६५ पछि पहिलोपल्ट यति कम्ती रेटिंग पोइण्ट्समा पुगेको छ। यसरी सीरीज जितेर १३ रेटिंग पोइण्ट्स पाए पनि बंग्लादेश नवौं स्थानमा रहेको छ। सीरीज २-०-ले जितेपछि टीमलाई वर्ल्ड टेस्ट च्याम्पियनशीप टेबलमा चाहिँ फाइदा भएको छ अनि उनीहरू भारत, अष्ट्रेलिया र न्यूजील्याण्डपछि चौथो स्थानमा पुगेका छन्। यसरी ईंग्ल्याण्ड पाँचौं स्थानमा रहेको छ। बंग्लादेशको टीम अब दुईवटा टेस्ट म्याचको सीरीज खेल्न भारत यात्रामा आउनेछ। यी दुई टीमबीच पहिलो टेस्ट म्याच १९ सेप्टेम्बरदेखि चेन्नईमा खेलिनेछ।