भद्रपुर: अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ।
शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो। स्थानीय स्रोतका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ। अदालतको अभिलेख अनुसार एक वर्षअघि पाण्डेले काम गर्ने चमेना गृहमा शाह पटक पटक आउने गरेको जनाएको छ।
प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए। ‘हामी कानुनको अदालतमा उनको निर्दोषता प्रमाणित गर्न तत्पर छौँ,’ रक्षा अधिवक्ता विल्विन जे कार्टरले भने।
यद्यपि सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म शाहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन्। मुना नर्सिङ पढिरहेकी थिइन्। उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।