गान्तोक: राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण (एनडीएमए) ले आज भिडियो कन्फ्रेन्सको माध्यमद्वारा नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा अभिमुखीकरण समन्वय बैठक आयोजन गऱ्यो।
बैठक आयोजन गर्नुको उद्देश्य आपदा तयारी र प्रतिक्रिया रणनीतिहरू वृद्धि गर्नु रहेको बताइएको छ।
बैठकको अध्यक्षता एनडीएमएमा परामर्शदाता सेवानिवृत्त मेजर जनरल सुधिर बहलले गरेको थियो। बैठकमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ, एडीसी सुवास घिमिरे, एसडीएम निम पिन्चो भोटिया, एसडीएम सरण कालिकोटे, शिक्षा विभागका सीईओ सुरज राई आदि सहभागी बनेका थिए।
बैठकमा आईआरटी लगायत टेबलटप अभ्यास र मक ड्रिलको बारेमा चर्चा गरियो। आपदा तयारी र प्रतिक्रिया रणनीतिहरूमा सुधारका लागि यी गतिविधिहरू आवश्यक रहेको बताइयो। मेजर जनरल बहलले आपदा प्रबन्धनमा घटना प्रतिक्रिया टोली (आईआरटी) को भूमिकाको बारेमा जानकारी गराए। चर्चाको क्रममा योजना, रसद र सञ्चालन खण्डहरूमाथि बल दिइएको थियो।
यस अतिरिक्त, उनले टास्क फोर्स र आईआरटी सदस्यहरूको कामकाज र जिम्मेवारीमाथि पनि प्रकाश पारे। उनले आपदा क्षतिको आकलन र विश्लेषण गर्नका लागि ड्रोन र सेटेलाइट छवि प्रयोग गर्नुपर्ने वकालत गरे। यस क्रममा नाम्ची जिल्लापालले मक ड्रिलको सफल कार्यान्वयन सुनिश्चित गर्न आवश्यक तयारी गतिविधिहरूको बारेमा जानकारी लिइन्।










