गान्तोक: विश्वको सर्ववृहत राजनीतिक दल भारतीय जनता पार्टीले हिजोदेखि राष्ट्रव्यापी सदस्यता अभियानको शंखघोष गरेसँगै आज पार्टी प्रदेश एकाईले पनि सिक्किममा सदस्यता अभियानको शुभारम्भ गरेको छ।
पार्टीको सिङ्तामस्थित पार्टी मुख्यालयमा सम्पन्न एक समारोहबीच प्रदेश अध्यक्ष डीआर थापाले राज्यको पहिलो सदस्यता ग्रहण गर्नका साथै राज्यमा पनि सदस्यता अभियान शुरू भएको घोषणा गरियो।
यस अवसरमा पार्टीका वरिष्ठ नेता एनके सुब्बा, प्रदेश पदाधिकारीगण, जिल्ला तथा मण्डल कार्यसमिति सदस्य, मोर्चा प्रतिनिधि साथै कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त जानकारी प्रदेश भाजपाले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रदेश महासचिव अर्जुन राईले सदस्यता अभियान सम्बन्धी विभिन्न पक्षहरूबारे प्रकाश पारे साथै सबै पार्टी पदाधिकारी तथा विभिन्न समितिहरूलाई छुट्याइएको कार्यभारबारे विस्तृत जानकारी दिए। उनले पार्टीको सदस्यता लिन आफ्नो मोबाइलबाट ८८००००२०२४ मा मिस्ड कल गरेर आफ्नो प्राथमिक सदस्यता कार्ड प्राप्त गर्न सकिने जानकारी दिए।
आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्ष डीआर थापाले सदस्यता अभियानलाई पार्टीको सांगठनिक विस्तार अनि राज्यमा दह्रो संगठन धरातल निर्माणको एउटा माइलखुट्टी रहेको बताउँदै सबै स्तरका कार्यकर्ताहरूलाई यसको निम्ति समर्पित भएर लागिपर्ने आह्वान गरे। उनले २ सेप्टेम्बरदेखि २५ सेप्टेम्बरसम्म पहिलो चरणको अभियान हुने जानकारी गराउँदै १ देखइ १५ अक्टोबरसम्म दोस्रो चरणको अभियान चलाइने अवगत गराए।
केन्द्रको भाजपा सरकारले विगत १० वर्षमा विभिन्न जनकल्याणकारी योजनाहरू लागू गरेको र सिक्किमका ५ लाख भन्दा अधिक जनताले यी योजनाहरूबाट लाभ पाइरहेको अवगत गराउँदै यसलाई अझ सशक्त बनाउन भाजपालाई पनि अब दह्रो बनाउनुपर्ने उनको भनाई थियो। यसै गरी आफ्नो सम्बोधनमा प्रदेश महासचिव भरत दुलालले विगत २०१९ मा सम्पन्न सदस्यता अभियानबारे आफ्नो अनुभव झा गरे।
स्मरण गराइन्छ, सामूहिक नेतृत्वमा चल्ने भारतीय जनता पार्टीले प्रत्येक ६ वर्षमा आफ्नो सदस्यता नवीकरण गराउने प्रथा छ जस अन्तर्गत हिजो नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो सदस्यता ग्रहण गरेपछि सो अभियानको शुरूवात भएको हो। आगामी ३ महिनासम्म निरन्तर चलिरहने यस प्रक्रियामा पार्टीले १० करोड़ नयाँ सदस्य बनाउने लक्ष्य लिएको छ। यस अघि २०१४ अनि २०१९ मा भएको सदस्यता अभियानमा पार्टीले लगभग 18 करोड़ सदस्य बनाउन सक्षम बनेको थियो।











