अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको बताएका छन्। अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ अन्तिम प्रस्ताव पठाउन सक्ने रिपोर्टहरू आइरहेको बेला बाइडेनले यस्तो बताएका हुन्। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस नयाँ प्रस्तावको बारेमा वार्ताकारहरूसँग भेट गरे। यो सबै यस्तो समयमा भइरहेको छ जब सोमबार इजरायलमा सरकार विरुद्ध प्रदर्शन जारी छ। बन्दीहरूको रिहाइका लागि नेतन्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको प्रदर्शनकारीहरूले बताएका छन्। गत वर्ष ७ अक्टोबरमा इजरायलमा भएको आक्रमणपछि गाजामा सयौं मानिसलाई बन्धक बनाइएको थियो। ती मध्ये ६ जनाको शव गत शनिबार गाजाको रफाहमा रहेको सुरुङमा भेटिएको थियो। जब बाइडेनलाई नेतन्याहुले पर्याप्त काम गरिरहेका छन् कि छैनन् भनेर सोधियो, उनले जवाफ दिए, ‘छैनन्।‘ उनले अमेरिकाले हार नमान्ने र सहमतिका लागि प्रयास जारी राख्ने बताए।










