भद्रपुर: सुनसरीको इनरुवा ५ बलाहा स्थित एक निजी विद्यालयमा अध्यनरत मिर्गौलाको क्यान्सर पीडित बालकलाई निजी तथा आवासिय विद्यालय संगठन इनरुवाले साढे तीन लाख उपचारका लागि सहयोग गरेको छ।
इष्ट पोइन्ट इङलिस स्कुल इनरुवा ५ मा अध्यनरत बालकलाई मिर्गौलामा क्यान्सर देखिएपछि इनरुवा प्याब्सनले नगरक्षेत्रमा रहेका सवै विद्यालयका विद्यार्थी र शिक्षकहरुसँग सहयोग संकलन गरि बिरामी बालकका अभिभावकलाई हस्तान्तरण गरेको हो।
इनरुवा ५ निवासी दिपक पोखरेल तथा दिपा केसी पोखरेलका छोरा इसान पोखरेलको मिर्गौलामा क्यान्सर देखिएपछि कान्ती बाल अस्पतालमा भर्ना गरेर उपचार गराउने क्रममा आर्थिक अभाव भएपछि इनरुवा प्याब्सनले सहयोग संकलन गरेको हो।
बिरामी बालककी आमा दिपा केसी पोखरेल सो विद्यालयमा शिक्षकका रुपमा कार्यरतसमेत रहेकाले इनरुवा प्याब्सनले आर्थिक अवश्था कमजोर भएकै कारण उपचार गराउन नसक्ने अवश्था आएपछि सहयोग जुटाएको हो।
सुनसरी प्याब्सनका पूर्वअध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक बिष्णु कोइराला, इनरुवा प्याब्सनका अध्यक्ष रमेश गुरागाई, सचिव गंगाराम मण्डलसहितका प्याब्सनका पदाधिकारी सदस्यहरुले बिरामी बालकका हजुरबुवा सुबास पोखरेललाई ३ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
संयोजक कोइरालाले प्याब्सनले इनरुवामा विभिन्न समयमा जीवन रक्षाका लागि उपचार गर्न रकम अभाव भएका शिक्षकहरु र विद्यार्थीलाई रकम संकलन गरेर उपचारमा सहयोग गरेको बताए।









