भद्रपुर: देशकै प्रमुख धान उत्पादक जिल्लाको रुपमा रहेको सुनसरीमा यसवर्षको बर्षामा चाहिने जति पानी नपरेपछि रोपेको धानलाई कसरी जोगाउने भन्ने चिन्ता त थिदै थियो तर अहिले धानमा देखिन थालेको पातखाने किरा गवारो रोग फैलिन थालेपछि झनै चिन्तित बनाएको छ।
यसवर्ष आवश्यक मात्रामा वर्षा नहुँदा सुनसरीका किसानले लगाएका अधिकांश धानबालीमा धाँजा फाट्न थालेका छन्। सिचाई सुविधा भएका र भूमिगत पानीको स्रोत भएकाहरुले पानी पटाएर जसोतसो धानलाई जोगाईरहेको भएपनि सो सुविधा नभएका किसानहरु लामो समयदेखि चिन्तित छन्।
यो वर्ष धान रोप्ने समयभन्दा अगाडि प्रयाप्त पानी परेको र त्यसमै जसो तसो धान रोपेका किसानहरु त्यसपछि ठूलो पानी नपर्दा चिन्तित छन्।
यसैबेला धानबालीमा यसवर्ष गवारोसहित विभिन्न किसिमका नयाँ पुराना रोगहरु धानमा देखिएपछि किसानहरु झनै चिन्तित बन्न पुगेका छन्।
जिल्ला सदरमुकाम इनरुवा सहित विभिन्न स्थानीय तहमा धानमा अत्याधिक घाँस पलाएको देखि रोग किरासम्मको समस्याले गर्दा विषादी छर्न किसानहरु व्यस्त भएका हुन्।
असार महिनाभरी नै बर्षा भएको र साउनमा फाट्टफुट मात्रै वर्षा भएकाले विगतको भन्दा यसपाली धानमा विभिन्न किसिमको झार तथा घाँस पलाएकाले सुरुदेखि नै किसानले झार मार्ने औषधीदेखि पछि अन्य पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेकोले किसान विषादी छर्न बाध्य भएको कृषि प्राविधिक भुवनेश्वर यादव बताउँछन्।
उनका अनुसार जिल्लाको गढी, बर्जु र हरिनगर गाउँपालिका र इनरुवा नगरपालिकाका विभिन्न स्थानका धान बालीमा रोग किराको प्रकोप बढेको छ। रोग किराको प्रकोप बढेकाले किसानहरुलाई बाली जोगाउन विषदी छर्न भ्याईनभ्याई परेको छ।
यसवर्ष सुनसरीका किसानहरुको धान बारीमा सिथ ब्लाईगर, ग्वारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ। धान बालीको जरामा किरा बसेको, केहीमा पात सुकेको, केहीमा पात गल्ने, केहीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र केही धानको पात सुकाइदिएकाले विषादी हाल्नुपर्ने अवस्था आएको किसानको गुनासो छ।
रोपोको पहिलो महिना राम्रो रहेको भएपनि अहिले आएर धानमा समस्या देखिएको इनरुवा ८ का किसान धर्मा उराँव बताउँछन्।
धानमा कीराको आक्रमण पश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने भएकाले सुक्ने गरेको उनको भनाई छ। यसैका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसान चिन्तित बनेको अर्का किसान विषन उराँव बताउँछन्।
किसानहरुले रोगको प्रकोपको सही समाधान पाउन नसकेको गुनासो गरिरहेको बोला कृषि ज्ञान केन्द्रका प्रमुख नीनकमल सिंहले भने प्रत्येक वर्ष केही न केही नयाँ प्रकोप र केही पुरानै रोग किराले किसान समस्या परेको बेलाबखत गुनासो आएको भएपनि विगतको जस्तो समस्या नभएको दावी गरे।
किसानहरुका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ।
आकासे वर्षा कम हुँदा पानी पटाउने खर्च र रोगको प्रकोपले गर्दा विषादी छर्नु पर्ने लगायतका खर्चका कारण यसवर्ष धानको उत्पादन लागत बढ्ने र उत्पादन पनि घट्ने स्थिति रहेपनि किसानको उत्पादन बजारमा आउने बेलामा धानको मुल्य न्यून कायम हुने विगतको स्थितिले गर्दा किसानहरु धान खेतीको लागत कसरी उठाउने भन्ने चिन्तामा देखिन्छन्। सुनसरीका ब्यापारीहरुले सरकारले तोकेको समर्थन मुल्य समेत नदिने स्थितिले किसानको चिन्ता बढेको हो।









