पेरिस: प्यारा ब्याडमिण्टन खेलाड़ी नितेश कुमारले असाधारण प्रदर्शनको क्रम जारी राख्दै सोमवार पेरिस प्यारालम्पिकमा स्वर्ण पदक जिते। उनले ब्रिटेनका प्यारा ब्याडमिण्टन खेलाड़ी डेनियल बेथेललाई पुरुष एकल (एसएल३) वर्गको फाइनलमा २१-१४, १८-२१, २३-२१-ले पराजित गरे। भारतको पेरिस प्यारालम्पिकमा यो दोस्रो स्वर्ण पदक हो। भारतले अहिलेसम्म ९ वटा पदक जितिसकेको छ। यसअघि महिला शूटर अवनि लेखराले स्वर्ण पदक जितेकी थिइन्। नितेशको जीतको साथै एसएल३ वर्गको स्वर्ण पदक भारतसँग कायम रह्यो। टोक्योमा तीन साल अघि प्यारा ब्याडमिण्टनले पदार्पण गर्दा भारतकै प्रमोद भगतले यस स्पर्धाको स्वर्ण पदक जितेका थिए। एसएल३ वर्गका खेलाड़ीहरूको शरीरको तल्लो हिस्सामा अधिक गम्भीर विकार हुन्छ अनि उनीहरूले आधा चौड़ाई भएको कोर्टमा खेल्छन्। साल २००९-मा विशाखापट्टनममा भएको रेल दुर्घटनामा नितेशले आफ्नो देब्रे खुट्टा गुमाएका थिए। त्यस समय उनी केवल १५ सालका थिए। दुर्घटनापछि उनले हरेस खानुको सट्टा ब्याडमिण्टन रोजे अनि आज इतिहास रचे।