गान्तोक: राजधानीस्थित पाल्जोर नामग्याल कन्या उच्चत्तर माध्यमिक विद्यालय स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ। यसै क्रममा कञ्चनजङ्घा लिट फेस्ट २०२४ कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपा मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य विधायक बर्फुङ्पाले पीएनजी विद्यालयले यसरी शिक्षाको क्षेत्रमा एक सय वर्ष पूरा गरेकोमा सम्पूर्ण शिक्षक-शिक्षिका साथै विद्यार्थीहरुलाई बधाई दिए। यस विद्यालयले शिक्षाको क्षेत्रमा आजसम्म ठूलो योगदान पुऱ्याएको कुरा उल्लेख गर्दै विद्यालयले धेरै होनहार विद्यार्थीहरुलाई जन्म दिइसकेको बताए। उनले आजको युगका विद्यार्थीहरु धेरै सृजनात्मक साथै सम्पूर्ण क्षेत्रमा पोख्त र अनुभवी रहेको बताउँदै विद्यार्थीहरुलाई लगनशील भएर अघि बढ्न र आफ्नो भविष्यलाई उज्ज्वल बनाउन सुझाउ दिए। उनले अनुशासन जीवनको अभिन्न अंग भएकाले यसलाई आत्मसात गरेर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे।
आजको कार्यक्रममा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, अन्तर विद्यालय तर्क प्रतियोगिता, एक्सटेम्पोर स्पिच प्रतियोगिता, क्रिएटिभ राइटिङ प्रतियोगिता साथै बुक फेयरको आयोजना गरिएको थियो, जसमा गान्तोक साथै राज्य बाहिरका विभिन्न स्कूलका विद्यार्थीहरुले उत्साहपूर्वक भाग लिएका थिए। यी सबै प्रतियोगिताहरुको समापन भोलि हुनेछ।