गान्तोक: असम राज्यको भ्रमण सकेर सिक्किम फर्किने क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज बाघडुग्रा हवाई अड्डामा स्वागत जनाइयो। मुख्यमन्त्रीलाई सिलगढीको प्रोटोकल यूनिट, पर्यटक सूचना केन्द्र र एसटीडीसीका अधिकारीहरूले स्वागत जनाए।
उल्लेखनीय छ, असम भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले असमका मुख्यमन्त्री डा हिमन्त बस्व सरमासॅंग डिसपुरमा भेट गर्दै विभिन्न विषयमाथि कुराकानी गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले असम र सिक्किमको सम्बन्धलाई अझ प्रगाढ बनाउनको निम्ति गान्तोकदेखि असमसम्म हेलिकप्टर सेवा शुरू गर्ने विषयमा छलफल गरे।
यसो हुन सकेको खण्डमा दुवै राज्यका मानिसहरू लाभवान्तित हुने उनले सम्भावना व्यक्त गरे। मुख्यमन्त्रीले असमका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका राज्यका रोगीहरूसँग भेट गरेर उनीहरूलाई आर्थिक सहायता प्रदान गरेको पनि जानकारी गराइएको छ।