बाग्राकोट: आज साहित्य परिक्रमा बाग्राकोटको आयोजनामा ३०औँ नेपाली भाषा मान्यता दिवस कार्यक्रम सम्पन्न भयो| कार्यक्रमको अध्यक्ष वरिष्ठ समाजसेवी जेबी छेत्रीले गरेका थिए भने कार्यक्रममा मुख्य अतिथिको रुपमा वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, अतिथिगण वरिष्ठ समाजसेवी जीबी तामाङ, वरिष्ठ साहित्यकार शंकर प्रधान, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, आदिवासी गोर्खा संयुक्त समिति अध्यक्ष सघन मोक्तान, भाषा संग्रामी नेत्र खड्का आदिको उपस्थिति रहेको थियो| कार्यक्रममा स्वागत वक्तव्य कथाकार मदन खड्काले राखेका थिए| राकेश ठकुरी, रूपनारायण प्रधान, नारायण काफ्ले कविता वाचन गरे| भाषा संग्रामी नेत्र खड्कालाई आयोजक कमिटीको तर्फबाट सम्वर्द्धना जनाइयो| कार्यक्रमलाई सम्बोधन गर्दै नेत्र खड्काले भने, भाषा संग्राम गर्यौ, तर सम्मान पाउने अपेक्षा राखेनौ| तिनले कार्यक्रममा गुवाहाटी/उदलगुडी भाषा आन्दोलनमा जॉंदाका अनुभव साझा गरे|
प्रमुख वार्ताकार बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका शिक्षक शंकरसिंह कुमाईले भाषा संग्रामको इतिहासलाई संक्षेपमा प्रस्तुत गरे| नेपाली भाषाको प्रयोग र व्यावहारिकताका लागि राष्ट्रिय जागरूकताको खॉंचो छ| नेपाली भाषा एउटा समृद्ध भाषा हो| सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग आवश्यक छ भने| साहित्यकार शंकर प्रधानले नेपाली भाषाको ऐतिहासिक सन्दर्भ उल्लेख गरे| भाषा संग्राम इतिहासका विभिन्न घटनाहरू उल्लेख गरे| सम्बोधनको क्रममा बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्माले भने, ३० वर्ष बितिसक्दा पनि भाषाको व्यावहारिक प्रयोग भनेजस्तो हुनसकेको छैन| मातृभाषामा पढ्न सबैलाई इच्छा हुँदाहुँदै सर्वोच्च स्तरसम्म नेपाली भाषाको अध्ययन सामग्री उपलब्ध छैन| जसले गर्दा नेपालीभाषी विद्यार्थीहरू वञ्चित हुन्छन्| अन्य भाषालाई अप्नाएर बाध्यतामूलक अध्ययन गर्नुको परिणाम हामी सबैले देखेका छौँ| नेपाली मीडियममा नानीहरू पढ्न मन नगर्नुको कारण नेपाली पाठ्यपुस्तकहरूको कमी पनि हो| कार्यक्रममा लोकगायक गोकुलसिंह थापाले लोकगीत प्रस्तुत गरे भने बाग्राकोट टीजी प्राइमेरी स्कूलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए| कार्यक्रमको अध्यक्ष जेबी छेत्री, अध्यक्षीय सम्बोधनको क्रममा भने, ‘हाम्रो ट्रेनिङ नै भाषा मान्याताको आन्दोलनबाट भएको हो| साहित्य, संगीतप्रति हाम्रो चासो र रुचि बढ़ेको हो| सत्तर-अस्सीको दशकमा साहित्यिक संघ-संस्थाहरूसँग राम्रो सम्बन्ध थियो| आन्दोलन दु:खमै थियो| हामीसँग पैसा थिएन| ३६ वर्षमा हामी पनि २५-२६ वर्ष त हिँड्यौ| संघर्ष यति गतिशील थियो| हामीले त्यो समय बितेको थाहा पाएनौं| भाषा आन्दोलनमा वामफ्रण्टका नेताहरूको सहयोगलाई हामीले कहिल्यै बिर्सनु हुँदैन| हामीले पुर्खाहरूको बलिदानलाई सम्झिनुपर्छ| दुई शहीदहरूलाई पनि हामीले सम्झनुपर्छl’ सम्पूर्ण कार्यक्रमको सञ्चालन निबन्धकार अजय खड्काले गरेका थिए|