भद्रपुर: चीनका लागि प्रस्तावित नेपाली राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताए। सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतका रुपमा आफ्नो भूमिका हुने उनको कार्ययोजना थियो। सेप्टेम्बर १ तारिख रविवार संसदीय सुनुवाईको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखेका छन्।
उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तापवित राजदूत ओलीले उनीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए। तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदूत हुनेबित्तिकै पहल गर्ने पनि प्रस्तावित राजदूत ओलीको भनाइ थियो।
उनले भने, ‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ। त्यही अनुसार राजदूतले अघि बढ्ने हो। त्यसकारण हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हामो कनेक्टिभिटी बढाउन सक्छौँ। त्यसमा पहल गर्ने। त्यो एउटा भयो। चीनमा २१ प्रतिशत बुद्धिस्टहरु रहेका छन्। अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरु छन्। त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु। अब भन्सार संचालन गर्ने अर्को महत्वपूर्ण कुरा छ। तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु।’
राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए।