खोरीबारी: प्रात भ्रमणको क्रममा हात्तीको बथानले एक वृद्धलाई आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते भएका वृद्धको नाम नरबहादुर क्षेत्री (७२) हो। उनी नक्सलबारीको दक्षिण रथखोलाका बासिन्दा हुन्।नरबहादुर क्षेत्री आज बिहान खोरिबारीको बुरगञ्जको कालिडाङ्गा क्षेत्रमा बिहान घुम्न निस्किएका थिए। त्यसैबेला हात्तीको बथान झारुजोत जंगलबाट टुकरियाझार जंगलतर्फ गइरहेको थियो। त्यही क्रममा हात्तीको बथानले उनीहरुमाथि आक्रमण गरेको थियो। जसका कारण उनी गम्भीर घाइते भएका थिए। पछि हात्तीको गर्जना सुनेपछि स्थानीयवासीले घटनास्थल पुगेर घाइते वृद्धलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएका थिए। अहिले उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ। यस सम्बन्धमा कर्सियाङ डिभिजनका डीएफओ देवेश पाण्डेले आज बिहान हात्तीको करिडोरमा मर्निङ वाक गर्ने क्रममा वृद्धलाई उक्त दुर्घटना भएको बताए। यसका साथै उनले अन्धकारमा करिडोरमा नहिँड्न पनि सन्देश दिएका छन्। घटनापछि वनकर्मीहरूले माइकिङ गरेर मानिसहरूलाई सचेत गराउँदै छन्।