मोरंगका रोनाल रुस पुगेको दुई महिनामै सम्पर्कबिहीन भएपछि‘ आफन्तको हारगुहार

IMG-20240902-WA0189

भद्रपुर: मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका २४ वर्षीय रोनाल मिश्र १२ अक्टूबर २०२२ मा रोजगारीका लागि रुसी सेनामा काम गए । तलब राम्रो पाउने र काम पनि सहज हुने विश्वासका साथ रोनाल रसिया (रुस) पुगेको दुई महिनामै उनी सम्पर्कबिहीन बने। सम्पर्कबिहीन भएको नौ महिना बितिसकेपनि उनी सम्पर्कमा आएका छैनन्।
छोरो सम्पर्कमा नआएपछि aरोनालका बुबा कठोर बनिरहन सकेनन्। उनले गत२४ जुलाई मा देहत्याग गरे। अहिले घरमा रोनालका भाई र आमा मात्रै छन्। ‘दाजुको खबर छैन, बुबा बिते ,’ रोनालका भाई रिजनले भन्छन्,‘हाम्रो मान्छेका बारेमा कसले सोधिखोजी गरिदिन्छ?’ कक्षा नौ मा अध्ययनरत रहेका उनले घरको आम्दानी र कुनै व्यापार, व्यावसाय समेत नहुँदा समस्या परिरहेको सुनाए।
लक्ष्मीमार्गकै हिरामाया राईको आँखा नओभाएको एक वर्ष भयो। उनका श्रीमान बितेको एक दशकबढी भयो। बुढेसकालको एकमात्र साहरा छोरा प्रितम राई थिए। गत सितम्बरमा दलालले छोरालाई राम्रो आम्दानी हुने भन्दै रसिया पठाइदिए। पाँच महिनासम्म सम्पर्कमा रहेपनि गत फरबरीबाट उनी सम्पर्कबिहीन भएका छन्।
मार्चमा परिवारमा खबर आयो युद्धमा प्रितम मारियो। यो खबर आफन्तले सुरुमा आमालाई सुनाएनन्। तर धेरै दिन लुकाउन पनि सकेनन्। उनले थाहा पाएपछि अर्धचेत भइन्। अहिले पनि छोराको पिरमा आँसु नझरेको क्षण हुँदैन। प्रितम मारिएको खबर आएपछि आफन्तले काजकिरिया गरेका छन्। बुढ्यौलीको सहारा ढलेपछि हिरामाया पलपल भक्कानिरहेकी छन्।
‘कसरी–कसरी रसिया पुगेको भतिजो चैतमा मरेको खबर आयो, त्यसपछि काजकिरिया गर्यौ,’ मृतक प्रितमका काका धर्मराज राईले भने, ‘एक्लो छोरो बित्यो। भूटानी शरणार्थी प्रकरणमा ठूला मान्छेको हात थियो, यहाँ पनि होला। यसको खोजी किन नभएको होला? अवैध तरिकाले जाने विषयमा राज्यले चासो नदिएको उनको भनाइ छ।
उदयपुर नगरपालिका कटारी २ का ओमबहादुर आलेमगर नेपाली सेनाको जागिरबाट अवकास पाएपछि रुसी सेनामा काम गर्ने भन्दै गए।
उनी रुस गएको कात्तिकमा एक वर्ष हुन्छ। घरमा स-साना चार जना छोराछोरी छन्। गएको केही महिना परिवारको सम्पर्कमा थिए। तीन पटक उनले परिवारमा खर्च पनि पठाए।
घरमा ऋण तिर्नका लागि पैसा पठाउँछु भन्दै श्रीमतीसँग कुरा गरेका ओमबहादुर चार महिनाअघिदेखि बेपत्ता भए, त्यसपछि मृत्युको खबर परिवारमा आयो। आफन्तको सल्लाहमा विनुले श्रीमानको काजकिरिया गरिन्। चार छोरा छोरीलाई हुर्काउने जिम्मा विनुमाथि नै छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका १० का विनोद राई पनि गत दशैंको टीकाको दिन घरबाट रसियाका लागि हिँडे। नेपाल आर्मीमा १४ वर्ष काम गरेका उनी कतारबाट फर्किएपछि साथीहरूले भनेपछि उनी रसिया गए।
करिब तीन महिना उनी परिवारको सम्पर्कमा थिए। त्यसपछि उनी बेपत्ता छन्। उनका साथीले बेपत्ता भएको खबर पठाएका छन्। ‘दिसंबर १३ देखि उनिसँग सम्पर्क भएको छैन,’ श्रीमती कमलश्वरी राईले भनिन्, ‘मेरो श्रीमानलाई ल्याइदिनुपर्यो।”
रुस युक्रेनयुद्ध सुरु भएपछि नेपालबाट कति नेपाली नागरिक रुसी सेनामा गए भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन। चोर बाटोबाट गएकाहरूलाई सरकारले फर्काउनसमेत पहल गरेको छैन। रुसी सेनामा काम गरेर नेपाल फर्किएका इटहरीका हेमराज बुढाथोकीका अनुसार १० हजार भन्दा बढी नेपाली रुसी सेनामा छन्। रुसमा उनले देखेको संख्याका आधारमा उनले यो अनुमान गरेका हुन्।
उनी ४८ जना नेपालीसहित भिजिट भिसामा रसिया गएका थिए। युद्धमा गोली लागेर उनी घाइते भए। कार्यालय सहयोगीको रुपमा काम गर्न भन्दै रसियन सेनामा लगेका थिए। ‘त्यहाँ कसैलाई भेट्न दिदैनन्,’ उनले भने, ‘अघिल्लो वर्ष सितम्बर, अक्टूबर, नवंबरमा दैनिक ५० भन्दा बढी नेपालबाटै गएका छन्, खाडी देशबाट पनि सिधै रसिया गएका छन्।’
‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान की अभियान्ता कृतु भण्डारीका अनुसार २७८ जना बेपत्ता छन्। ‘हामीसँग भएको तथ्यांकअुनसार ६१ परिवारले त काजकिरिया नै गरिसक्नुभएको छ,’ उनले भनिन् ‘रसिया पठाउनका लागि एक सय ७७ जना दलालहरू छन्।’
उनले अहिलेसम्म तीन हजार बढी नेपाली रुसको सेनामा रहेको दाबी गरिन्।
यता, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले रुसी सेनामा बेपत्ता भएकाहरुको खोजीका लागि पहल गर्ने बताए। बेपत्ता परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत पहल गर्ने बातावरण मिलाउने उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement