सप्तश्री ज्ञानपीठमा नेपाली भाषा मान्यता दिवस पालन

IMG-20220820-WA0177.jpg

पोचोक गितडब्लिङ की सञ्चालिका दिपमाला छेत्री, कवयित्री संगम सुधा र पद्मश्री काजीसिंह सम्मानित

कालेबुङ: कालेबुङको एक प्रतिष्ठित शैक्षिक संस्थान सप्तश्री ज्ञानपीठले आज नेपाली भाषा मान्यता दिवस भव्य रूपमा पालन गर्यो। विगत एक दशकभन्दा अघिदेखि भाषा, साहित्यको संरक्षणका निम्ति काम गर्दै आइरहेको यस विद्यालयले आज नेपाली भाषा मान्यता दिवसको कार्यक्रमबीच भाषा साहित्यको संरक्षणमा कार्य गर्ने विद्यार्थी तथा स्रष्टाहरूलाई अभिनन्दन पनि जनायो। पद्मश्री काजी सिंह मुख्य अतिथि रहेको कार्यक्रममा उनलाई पद्मश्री जस्तो गरिमामय पुरस्कार प्राप्त भएकोमा सप्तश्री ज्ञानपीठले अभिनन्दन जनायो।

यसरी नै नेपाली पत्रकारिताको क्षेत्रमा उल्लेखनीय काम गरिरहेकी दिपमाला छेत्री (निर्देशिका पोचोक गीतडाब्लिङ) अनि विद्यार्थी जीवनमा नै तीनवटा पुस्तक प्रकाशित गरिसकेकी स्रष्टा संगम सुधालाई पनि विद्यालयको पक्षबाट अभिनन्दन जनाइयो।
नेपाली पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै पोचोक गितडब्लिङ सम्मानित भएको हो। सन् २०१२ देखि अनवरत रूपमा दुर्गम तथा ग्रामीण क्षेत्रका बिभिन्न समस्यालाई पत्रकारिताको माध्यमबाट विश्व सामु सरल र सरस ढंगमा उजागर गरी आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ‘पोचोक गितडब्लिङ’की सञ्चालिका श्रीमती दिपमाला छेत्री उक्त सम्मान ग्रहण गर्न समारोहमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालिका छेत्रीलाई अभिन्दन सहित स्मृति पुरस्कार प्रदान गरिएको थियो।

विद्यालयका निर्देशक तपन कुमार प्रधान, प्रधानअध्यापिका स्मिता प्रधान, मेरियम गुरुङ, प्रशासिका सुब्रता थामी, प्रशासक अविनाश छेत्री, ई. बी. शेर्पा, सञ्जीव प्रधान, साहित्यकारहरू निमा स्याङदेन, सारथी तामाङ, हीरा छेत्री, केटीभी-का निर्देशक नरेन्द्र तामाङ, पत्रकार यौवन मोथे, विजय नारायण प्रधान आदिको उपस्थितिमा भएको यस कार्यक्रमलाई संयोजक भुवन पी. खनालले सञ्चालन गरेका थिए। शिक्षक पारस शर्माले स्वागत भाषण राखेको कार्यक्रममा विद्यार्थी प्रीतिका प्रधानले वार्ता प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा आईसीएसई २०२२ मा नेपाली विषयमा ९०% भन्दा बड़ी अंक हासिल गर्ने विद्यार्थीहरूलाई अभिनन्दन जनाइयो। शिक्षिका होमा प्रधानले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा अभिनन्दन पत्र पठन सुषमा रसाइलीले गरेकी थिइन् भने विद्यार्थीहरूले नेपाली लोकनृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक भुवन पी. खनालले नेपाली भाषा तथा साहित्यप्रति विद्यार्थीहरूको चासो बढ़ाउन आफूहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैआएको र भाषा दिवस विगत दश वर्षदेखि लगातार आयोजना गरेर नेपाली भाषाको व्यवहारिकतामा जोड़ दिँदै आइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement