गान्तोक: उत्तर सिक्किमअन्तर्गत रहेका जम्मा १४ वटा झीलको अध्ययन गर्न हिजो गान्तोकबाट प्रस्थान भएको टोली आज १५,५७० फिटमा अवस्थित तिन्चुङ्खा झील पुगेको छ। टोलीलाई लाचुङ जुम्साद्वारा अगुवाई गरिएको थियो। यसअघि स्थानीय लाचुङका जुम्साले स्वागत गरेको थियो। यसबीच जुम्साद्वारा परम्परागत प्रार्थना समारोह पनि आयोजन गरेको थियो। अभियानको क्रममा टोलीका प्रमुख डा. सन्दीप ताम्बेले पवित्र झीलहरुको अध्ययन भ्रमण गर्दा टोलीले सबै संवेदनशीलताहरुलाई ध्यान राख्ने बताए। टोलीले भारत-तिब्बत सीमा पुलिसलाई तकनिकी सहयोगका लागि आभार जनाएको छ। टोलीले दोस्रो दिनको अध्ययन भ्रमणको क्रममा झीलमाथि अनेक सफलता हासिल गरेको जानकारी दिएको छ। स्मरण रहोस्, गत वर्ष ४ अक्टोबरको राति उत्तर सिक्किमको ल्होनार्क झीलमा बादल फाट्दा टिस्टा नदीको जलस्तर बढ़ेर राज्यलाई व्यापक नोक्सान भएको थियो। यसलाई केन्द्र गरेर राज्य सरकारले केन्द्र सरकारको सहकार्यमा झीलहरुको विस्तृत अध्ययन गर्ने तयारी गर्दै ३५ सदस्यीय टोली उत्तर सिक्कि पठाएको हो।









