गान्तोक: यतिखेर सिक्किम राज्य शोकमग्न बनेको छ।सिक्किमेली साहित्य, सङ्गीत एवम् कला जगतबाट एउटा उज्ज्वल नक्षत्र अस्त भएको खबरले यसघडी राज्यलाई शोकमग्न बनाएको छ। सिक्किमका एक स्थापित गीतकार, प्रबुद्ध नाटककार एवम् साहित्यकार कमल दाहालको एउटा दुर्घटनामा असामयिक मृत्यु भएको छ।गत १३ अगस्तको दिन दाहाल पाकिमस्थित उनको घर छेवैमा पानी बनाउन जाँदा अचानक खुट्टा चिप्लिएर अग्लो ठाउँबाट लडेर सिक्किस्त बनेका उनलाई सिकिस्त अवस्थामा उनलाई तत्काल सिलगढीको नर्थ बंगाल न्यूरो क्लिनिकमा पुऱ्याइएको थियो। उपचारको क्रममा हिजो बेलुकी उनको निधन भएको छ। दाहालको पार्थिव शरीर हिजो राति नै तारेथाङस्थित उनको मूल घरमा ल्याइएको छ। शनिवार उनको दाह संस्कार गरिएको पारिवारिक सूत्रबाट थाहा लागेको छ।
पछिल्लो तीन दशकदेखि कमल दाहालले नेपाली सङ्गीत, साहित्य र कलाको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनी सिक्किमका एक वरिष्ठ गीतकारका रूपमा चिनिन्छन् जसका शब्दहरूलाई सङ्गीतकार शान्ति ठटाल, मधुसुदन लामा जस्ता सङ्गीतकारहरूले सङ्गीतबद्ध गरेका छन् भने प्रसिद्ध गायिका बिमला प्रधान, महेश सेवालगायत दर्जनौँ गायकहरूले स्वर दिएका छन्। नब्बेको दशकदेखि नै उनका दर्जनौँ गीतहरू आकाशवाणी गान्तोकबाट प्रसारण हुँदै आइरहेका छन्।दाहाल सिक्किमेली नाट्य जगतमा पनि एक चिर परिचित कलाकार हुन्। उनले धेरैवटा सामाजिक नाटकहरू लेखेका छन् भने दर्जनौँ नाटकहरूमा राज्य र राज्य बाहिरका मञ्चहरूमा अभिनय गर्दै आएका छन्। भर्खरै मात्र हर घा तिरङ्गामाथि आयोजन गरिएको राज्य स्तरीय गीत प्रतियोगितामा पनि उनीद्वारा रचित गीतले प्रथम स्थान प्राप्त गरेको थियो। सिक्किम सरकारमा एक सरकारी अधिकारीका रूपमा कार्यरत् दाहालले आफूपछि आमा-बुबा, पत्नी र छोरा-छोरी छाडेर गएका छन्।