बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका ८ जना मन्त्री र उनकी पार्टी अवामी लिगका ६ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ। एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन्। प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन्। देश छाड्न प्रतिबन्ध लगाइएका ६ जना पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन्। यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले बिहीबार यस्तो आदेश दिएको हो। राजधानीको बर्दा पुलिस चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ। उनलाई र्यापिड एक्सन बटालियनले बुधबार राति पक्राउ गरेको हो। त्यसै रात उनलाई गुल्शन पुलिस चौकीमा बुझाइएको थियो।










