दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा दार्जीलिङ पुलिसले लगातार तेस्रो जीतको साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीगअन्तर्गत खेलिएको म्याचमा दार्जीलिङ पुलिसले रिषिहाट युनाइटेड फूटबल क्लबविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले ३६औं र ७०औं मिनटमा २ गोल गरे। यसरी शुभम लामाले तेस्रो, अप्पो गुरुङले ४०औं र घ्याबो शेर्पाले ७९औं मिनटमा गोल गरे। यसरी रिषिहाट युनाइटेडबाट श्रेयस तामाङले ४४औं र शेखर राईले ७८औं मिनटमा गोल गरे। दार्जीलिङ पुलिसले अब पहिलो सेमिफाइनलमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लबको चुनौती स्वीकार्नेछ। यसरी दोस्रो सेमिफाइनल भाह-तकभर युनाइटेड फूटबल क्लब र रिषिहाट युनाइटेडबीच खेलिनेछ। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।










