२० अगस्तः मेलबर्न ओलम्पिक (१९५६)-मा ऐतिहासिक चौथो स्थानमा रहने भारतीय फूटबल टीमको अगुवाई गर्ने पूर्व कप्तान समर ब्यानर्जीको लामो बिमारीपछि शनिवार बिहानै कलकत्तामा निधन भयो। उनी ९२ वर्षका थिए। ‘बद्रू दा’-को नामले चिनिने ब्यानर्जी अल्जाइमर, एजोटेमिया र उच्च रक्तचापसँग सम्बन्धित बिमारीहरूले पीड़ित थिए। कोविड-१९ संक्रमित भएपछि उनलाई २७ जुलाईमा एमआर बांगर अस्पतालमा भर्ना गरिएको थियो। भारतीय फूटबल टीमले अहिलेसम्म तीनवटा ओलम्पिकमा भाग लिएको छ अनि ब्यानर्जीको कप्तानीमा रहने टीमले १९५६-मा अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन गरेको थियो। त्यस समय भारतीय टीम काँस्य पदकको प्ले अफ्-मा बुल्गेरिया विरुद्ध ०-३-ले पराजित भएर चौथो स्थानमा रहेको थियो। त्यस युगलाई भारतीय फूटबलको स्वर्णिम युग मानिन्छ। मोहन बगानलाई आफ्नो पहिलो डूरण्ड कप (१९५३), रोवर्स कप (१९५५) सहित धेरैवटा ट्रफी जित्नमा सहायता गर्ने ब्यानर्जीले एकजना खेलाड़ी (१९५३, १९५५)-को रूपमा दुईपल्ट अनि प्रशिक्षक (१९६२)-को रूपमा एकपल्ट सन्तोष ट्रफी पनि जितेका थिए। उनी भारतीय राष्ट्रिय टीमका चयनकर्ता पनि रहेका थिए। उनलाई २००९-मा मोहन बगान रत्नले सम्मानित गरिएको थियो।