भद्रपुर: नेपालको छिमेकी मित्रराष्ट्र चीनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक नेपाली संसदबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएकामा स्वागत गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले अगष्ट ३१ तारिख समाजिक संजाल एक्स मार्फत विधेयक प्रमाणीकरण गरेकोमा नेपाललाई बधाई दिएको हो।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन) विधेयक, २०२४ लाई प्रमाणीकरण गरेकामा हार्दिक बधाई नेपालका सम्माननीय रामचन्द्र पौडेल,’ उनले लेखेका छन्।
सर्वदलीय सहमतिमा आधारित नेपलाको शान्ति प्रक्रियामा यो कोसेढुंगा हुने समेत चिनियाँ राजदूतको भनाइ छ। ‘सबै दलको सहमतिमा आधारित नेपालको शान्ति प्रक्रियामा यो ऐतिहासिक कोसेढुंगा हो,’ राजदूत छन सोङले भनेका छन , ‘सबै सरोकारवालाहरू अगाडि बढ्ने र नेपालको उज्ज्वल भविष्यलाई अँगाल्ने बेला आएको छ।’
संघीय संसदका दुवै सनदबाट पारित भएर आएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले अगष्ट २९ तारिख प्रमाणीकरण गरेका थिए। राजपत्रमा प्रकाशित भएसँगै अब यो लागू हुनेछ।
विधेयक प्रमाणीकरण भएकोमा युरोपिएन युनियन, अमेरिका, जापान र युरोपेली देशले यसको स्वागत गर्दै नेपाललाई आश्वयक सहयोग गर्न तयार रहेको बताइ सकेका छन्।









