गान्तोक: उत्तर सिक्किममा रहेका १६ वटा हिमतालहरूको अवस्थाबारे अध्ययन गर्न आज ३५ सदस्यीय टोली मंगन जिल्ला प्रस्थान गरेको छ। सामाजिक कल्याण विभागका मन्त्री साम्दुप लेप्चाले झण्डा हल्लाएर टोलीलाई प्रस्थान गराए। पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले १४ वटा झील मंगन जिल्लामा परेको हुनाले यसको अध्ययन गर्न केन्द्रबाट पनि विभिन्न विभागका वैज्ञानिकहरू आएको साथै सिक्किमबाट पनि विशेषज्ञहरू अध्ययन टोलीमा सामेल रहेको जानकारी गराए। उल्लेखनीय छ, गत वर्षको ४ अक्टोबरको दिन उत्तर जिल्लाको लोनार्क झील परिसरमा बादल फाटेपछि यसको प्रत्यक्ष असर सिक्किम राज्यलाई पर्न गएको र त्यसबेला राज्यमा धेरै धनजनको क्षति भएको कुरालाई ध्यानमा राख्दै अध्ययन टोली पठाइएको बताए। भविष्य़मा त्यस प्रकारको घटना नहोस् र राज्यमा त्यस्तो अवस्था उत्पन्न नहोस् भन्ने ध्येय राखेर राज्य सरकार र केन्द्र सरकारको संयुक्त प्रयासमा अध्ययन टोली गठन गरेको अवगत गराए। यसका साथै यस टोलीले लाचेन, लाचुङ र मंगनका जनतासँग भेटेर उनीहरूलाई सचेत गराउने पनि लक्ष्य राखेर प्रस्थान गरेको बताए। अध्ययनको क्रममा यदि कुनै पनि झीलमा अधिक पानी भरिएको छ भने त्यसलाई फाट्न भन्दा अघि नै कसरी बाहिर निकाल्न पर्ने हो त्यसबारेमा पनि अध्ययन टोलीले काम गर्ने र भविष्यमा कुनै पनि झील फुटेर धनजनको क्षति नहोस् भन्ने सोंच सरकारको रहेको छ। मन्त्रीले थप जानकारी गराए अनुसार सिक्किमका मानिसहरू प्राकृतिक पुजारी रहेको हुनाले त्यहाँका झीलहरूमा पूजा गर्ने प्रचलन रहेको छ भने स्थानीयहरूको भावनालाई ध्यानमा राख्दै यसबारेमा रिम्पोछे, पिपन्सहरूसँग पनि सर सल्लाह गरेर मात्र अध्ययन गरिने बताए। उनले अध्ययन टोलीलाई शुभकामना दिँदै सबै जना सुरक्षित प्रकारले जाने र सावधानपूर्वक काम गर्ने आग्रह गरेका छन्। यसै क्रममा सचिव नम्रता थापाले जानकारी गराए अनुसार उक्त झीलहरूको अध्ययनको निम्ति अन्तर अनुशासनत्मक समिति गठन गरेको र उक्त समितिमा केन्द्र अनि राज्यको साइन्स एण्ड टेक्नोलजी लगायत अन्य विभागका वैज्ञानिकहरू सामेल रहेको बताइन्। उत्तर जिल्लाका मानिसहरूलाई कसरी प्रकृतिक प्रकोपबाट बचाउन सकिन्छ भन्नेबारेमा सचेत गराउने पनि अर्को लक्ष्य र उद्देश्य रहेको जानकारी गराइन्। ३५ सदस्य टोलीले धेरै ठाउँहरूको अध्ययन गरिसकेको हुनाले सबैजना सक्षम रहेको र यो अध्ययन अवश्य पनि फलदायी रहने सम्भावना व्यक्त गरेकी छन्।