गान्तोक: हरेक वर्ष तीजको पर्वमा नेपाली हिन्दू नारीहरूको रमाइलो जमघट हुने गर्दछ। तीज नेपाली हिन्दु नारीहरूले पालन गर्ने महान् पर्व हो। यस वर्षको तीज अब नजिकै आइसकेको छl युट्युब च्यानलहरूमा तीजको म्युजिक भिडियोहरू अहिले भाइरल हुन थालेको छl
‘तिम्रै लागि पानी नपिइ, व्रत हेर बस्याछु
तिम्रै लागि नजाने नि, कम्मर भाँची नाच्याछु
तीज आयो तीज आयो, भन्दै गाउँछु गीत
सम्झी सम्झी शिवजी र पार्वतीको प्रीत
पार्वती नि बसिन् व्रत शिवजीलाई पाउन…’
गान्तोक निवासी पुराना गायिका ममता लामाको तीजको यो गीत पनि युट्युबमा चलिरहेको छl यो गीतले तीजको रमाइलो परिवेशमा अझ बढी रौनक बढाउने छl हुन त ममता लामाको यो तीज गीत दुई वर्ष अघि नै रेकर्डिङ भएको होl तीजको गीत जहिले रेकर्डिङ भए पनि चल्ने त तीजकै बेलामा होl रातो साडी, हरियो पोते लगाएकी महिलाहरुको समूह रमाइलो गरी गाउँदै नाचेको यो म्युजिक भिडियो निक्कै रमाइलो देखिन्छl यसमा गायिका ममता लामा पनि महिलाहरूको समूहमा गीत गाउँदै प्रस्तुत भएकी छिन्l के एस लामा निर्माता रहेको यो गीत नेपालको अक्वेस्टिक स्टुडियोमा गरिएको छl सुपरिचित गीतकार सुरेन्द्र राणाको शब्द रचनामा रहेको यस गीतमा सुपरिचित संगीतकार सचिन सिंहको संगीत रहेको छl शिव ढकालले म्युजिक भिडियोको छायांकन गरेका छन् भने नृत्य निर्देशक सुपरिचित नृत्य निर्देशक कमल राई रहेका छन्l भर्खरै रक्षा बन्धनकै छेकमा ममता लामाको तीस वर्ष अघि कोलकातामा रेकर्डिङ गरिएको गीत ‘म त्यो होइन…’को म्युजिक भिडियो युट्युब सार्वजनिक भएको छl
तीजको महत्त्व
तीजकै बारेमा चर्चा गर्न पर्दा हरेक वर्ष तीजको पर्वमा नेपाली हिन्दू नारीहरूको रमाइलो जमघट हुने गर्दछ। तीज नेपाली हिन्दू नारीहरूले पालन गर्ने महान् पर्व हो। तीजमा नेपाली जातिको छुट्टै मौलिकता रहेका हुनाले नेपाली लोक संस्कृतिको ज्वलन्त उदाहरण मान्न सकिन्छ। तीजको पर्वमा धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा धेरै ठूलो महत्व रहेको छ। नेपाली नारीहरूले पालन गर्ने तीजको महान् पर्व कहिलेदेखि शुरू भएको भन्ने बारेमा भने कुनै लेखाजोखा छैन। तर, तीज पौराणिक कालदेखि नै चलिएको महान् चाड हो। नेपाली जातिभित्र तीजको पर्वमा आफ्नै मौलिकता रहिआएको छ। यो पर्वले नेपाली महिलाहरूको जनजीवनको धार्मिक, सांस्कृतिक, सामाजिक आदिको पहिचान बोकेको छ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भएपछि महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले तीजका रूपमा मनाउँदै आएका छन्। पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८औॅं जन्ममा मात्र उनको तपस्या पूरा भएको विभिन्न शास्त्रहरूमा उल्लेखित छ। यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाहरूले आफ्ना श्रीमानको दीर्घायु अनि अविवाहित महिलाहरुले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन चलिआएको छ।
तीजमा लगाइने पाम्परिक पहिरन राता साडी, हरिया, राता, पहेंला किसिमका पोतेहरू, गर-गहनाहरूको आफ्नै विषेशता रहेको छ। मुख्य रूपमा झल्किने यी रङ्गहरूको आआफ्नै विशेषता रहेको छ। रातो रङ्गलाई विजय, सौभाग्य, क्रान्ति र संघर्षको प्रतीक मानिन्छ। साउन महिनामा हरियो रङ्गको विषेश महत्व रहेको छ। कारण वर्खायामको महिनामा चारैतिर हरियाली छाएको हुन्छ। हरियो रङ्गलाई खुशी र समृद्धिको प्रतीक मानिन्छ। पहेंलो रङ्गलाई भक्ति र धर्मपरायणताको प्रतीक मानिन्छ। तीजका दिन नेपाली महिलाहरूले लगाउने पाम्परिक पहिरन रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रङ्गले महिलाहरूलाई शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गराउॅंदछ भने रातो टीका सौभाग्य र विजयको प्रतीक हो। ह्दय स्वच्छ भए मनोकामना पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ।