गान्तोक: प्रेस क्लब अफ् सिक्किमको विशेष आमसभा आज क्लबका अध्यक्ष भीम राउतको अध्यक्षतामा एमपी गोलाइस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा सम्पन्न भयो। उक्त जानकारी प्रेस क्लबका महासचिव डिल्लीराम दुलालले प्रेस विज्ञप्तिमा दिएका छन्।
सभामा राज्य सरकारद्वारा प्रेस क्लबमार्फत प्रदान गरिने वरिष्ठ पत्रकार अवकाश योजना, मुख्यमन्त्री कार्यालयद्वारा प्रायोजित पत्रकार सु-स्वास्थ्य योजना, प्रेस क्लबमा सञ्चालित रेस्टुरेन्ट र यसको पुनः निविदा, प्रेस क्लबको वाहनलाई व्यावसायिक प्रयोग गर्ने तथा आगामी दिनमा प्रेस क्लबद्वारा सञ्चालन गरिने योजनाबारे विस्तारमा चर्चा गरियो।
यसरी नै सभामा क्लबका कोषाध्यक्ष जगन दाहालले अहिलेसम्मको आय-व्याय प्रस्तुत गरे। सभालाई सम्बोधन गर्दै क्लबका अध्यक्ष भीम राउतले प्रेस क्लबको पहलमा पत्रकारहरूले प्राप्त गरेका सुविधाहरूबारे जानकारी दिए। प्रेस क्लबले राखेका चारबुँदे माग सबै राज्य सरकारले पूरा गरिदिएको बताउँदै उनले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।
क्लबले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा सिक्किमेली पत्रकारिताको ५० वर्ष विषयमाथि विभिन्न कार्यक्रम आयोजन गर्ने पनि उनले जानकारी गराए। यसरी नै क्लबका सांस्कृतिक सचिव निर्मल मगरले आगामी १३ देखि १५ सेप्टेम्बरसम्म प्रेस क्लबले पत्रकारहरूको निम्ति तीनदिने राष्ट्रिय स्तरको कार्यशाला आयोजना गर्ने जानकारी गराए भने कार्यकारिणी अध्यक्ष समीरहाङ लिम्बूले ७ सेप्टेम्बरको दिन प्रेस क्लबले सम्मानपूर्वक असहमति नारामा प्यानल चर्चा कार्यक्रम आयोजना गर्ने सभालाई अवगत गराए।