पाकिम: राज्यसभा सांसद डीटी लेप्चाले आज एउटा संयुक्त निरीक्षण टोलीलाई अगुवाइ गर्दै पाकिम बजारको भ्रमण गरे। यस अवसरमा उनको साथमा जिल्ला अध्यक्ष श्रीमती लाडेन लह्मू भोटिया, उपाध्यक्ष श्रीमती प्रभा प्रधान, जिल्लापाल अगवाने रोहन रमेश, विभिन्न विभागका शीर्ष अधिकारीहरू साथै एनएचआइडीसीएल-का प्रतिनिधिहरू रहेका थिए। यस संयुक्त निरीक्षण भ्रमणको उद्देश्य बजारका समस्याहरू बुझ्नु अनि समाधानको बाटो खोज्नु रहेको थियो।
संयुक्त निरीक्षण टोलीले सर्वप्रथम बजारको पार्किङ व्यवस्थाको जायजा लियो। यस अवसरमा सांसद लेप्चाले स्थानीय चालकहरूसँग पनि कुराकानी गरे। यसकासाथै सांसदले ट्याक्सी स्ट्याण्ड वरपरका सड़कहरूको अवस्थाको पनि जायजा लिए अनि यात्रीहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखेर कतिपय ठाउँमा तत्काल मरम्मती कार्य शुरु गर्ने निर्देश पनि दिए। त्यसपछि उनले बजारको ढल निकासी व्यवस्थापनको पनि जायजा लिए।
यस अवसरमा सासंद लेप्चा स्थानयीवासीहरूसँग पनि विभिन्न विषयमा कुराकानी गरे अनि उनीहरूको समस्याहरू सुने। यसको साथै जिल्लापाल अगवाने रोहन रमेशले पनि सम्बन्धित विभिन्न विषयमा पाकिम बजारवासीहरूसँग कुराकानी गरे। स्थानीयवासीहरूको समस्याहरूलाई समाधान गर्न प्रशासन प्रतिवद्ध रहेको उनले बताए।
भ्रमणअवधि जिल्ला प्रशासनले चिन्हित गरिएका ठाउँहरूमा सड़कहरूको मरम्मती गर्ने एनएचआइडीसीएल-का प्रतिनिधिहरू निर्देश दिएको छ।