गान्तोक: गान्तोकस्थित पाल्जर नामग्याल कन्या विद्यालयले आफ्नो स्थापनाको एक शताब्दी पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। यस क्रममा आज कञ्चनजंघा लिट-फेस्ट २०२४ कार्यक्रमको विद्यालय परिसरमा सम्पन्न भयो। उक्त कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य विभाग मन्त्री जीटी ढुंगेल प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।
प्राचार्य जेम तारगेनले उपस्थित सम्पूर्णलाई स्वागत जनाउँदै स्कूलले यो वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गरेर शतवार्षिकी पालन गरिहेको जानकारी गराइन्। यस शैक्षिक संस्थानले विद्यार्थीहरुलाई शिक्षा मात्र प्रदान नगरेर अन्य क्षेत्रहरुमा पनि अघि बढने प्रोत्साहन दिँदै आइरहेको बताइन्। आफ्ना स्कूलका विद्यार्थीहरुले राष्ट्रीय साथै अन्तराष्ट्रीय स्तरमा आफ्नो कौशलताको प्रस्तुति दिइरहेको कुरा पनि उनले उल्लेख गरिन्। प्रमुख अतिथिको आसनबाट आफ्नो सम्बोधन राख्ने क्रममा प्रमुख अतिथि मन्त्री ढुंगेलले राज्यका मुख्यमन्त्री तामाङको प्रशंसा गर्दै उनी राज्यमा मात्र नभएर देशको नै प्रसिद्ध रहेको कुरा बताउँदै सिक्किमको शिक्षा , स्वास्थ्य साथै सम्पूर्ण क्षेत्रमा नै मुख्यमन्त्रीले अतुलनीय कार्य गरिरहेको कुरा बताए। पिएनजी स्कूलले यसरी शिक्षाको क्षेत्रमा १ सय वर्ष पूरा गरेकोमा उनले सम्पूर्ण शिक्षक शिक्षिका साथै विद्यार्थीहरुलाई बधाई दिए। यस विद्यालयसे शिक्षाको क्षेत्रमा आजसम्म धेरै ठूलो योगदान पुऱ्याउँदै आइरहेको कुरा उल्लेख गर्दै स्कूलले धेरैजना होनहार विद्यार्थीहरुलाई जन्म दिइसकेको कुरा उनले बताए।स्कूल विद्यार्थीहरुको दोस्रो घर रहेक जनाउँदै विद्यार्थीहरुका लागि राम्रो परिवेश सृजना गरेकोमा स्कूललाई बधाई दिए। उनले उपस्थित विद्यार्थीहरुलाई लगनशील भएर अघि बढने र आफ्नो भविष्यलाई उज्ज्वल बनाउने सल्लाह दिए।अनुशासन जीवनको अभिन्न अंग भएको कारण यसलाई आत्मसाथ गरेर अघि बढने उनले उपस्थित विद्यार्थीहरुलाई सुझाव दिए। आजको कार्यक्रममा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, अन्तर विद्यालय तर्क प्रतियोगिता आयोजना गरिएको थियो, जसमा गान्तोकका विभिन्न स्कूलहरुले उत्साहपूर्वक भाग लिएका थिए।