
दृश्यमान छ संसार
हेरिएको छ आधापावा जीवन
नथाकेको पनि आँखा ।
दिइएन बहुवचन-अलग्ग छैन दृष्टि
आँखाको नोकर भएको
दृष्टिको दासत्व स्वीकारेको
धेरै भयो ,धेरै – धेरै भयो !
सुकुमार आँखाको गर्भपाती आँसु
पुछेर सुकुमार तर खस्रो औंलीले
बालुवाबाट माटो चालेर त्यो केटो
माटोमा उभिने घरलाई बालुवा छान्दैछ
कतै माटो हटाइन्छ
कतै माटो उठाइन्छ
कतै माटोको पूजा छ
कतै माटो फाटेर अङ्गभङ्ग,धुजाधुजा छ ।
देखेको छ आँखाले मनले लेखेको छ
पेण्डोराले उठाएको बिर्कोबाट उम्किएको
प्रत्येक कुरामा मान्छे व्यस्त छ ।
देखेको छ होटल-वेश्यालय र रुग्ण शरीर
त्यसउपर उठेको छ प्रलय देखेको छ ।
किन जिगोलोहरु आजकल जाँदैनन् साँझ
हुनसक्छ दुइ-चार भाँडहरुको लिङ्गविच्छेद भएको छ
प्रत्येक विच्छेदित लिङ्गको
पूजा नभएको देखेको छ ।
आँखा उठाएर हेर्दाहेर्दै एउटा
राजनीतिको गिद्धले अर्को जटायु मारेको छ ।
कहिल्यै रामसम्म खबर नपुगेको
सीताको आधुनिक बलात्कार देखेको छ
अदिति – भगबाट रक्तस्राव भएकी सीता
पहेंलपुर अस्पतालमा कुक्रुक्कै परेर
महाप्रस्थान गरेको देखेको छ ।
आँखा !
आफू स्वयं अगर्थमा स्खलित
अनवरत संघर्षको गाथा देख्छ
भाङराको धोतीमा गुएँलाको फूल जडेर
आजकल सिकन्दर अध्यात्मको भीख माग्छ
टीठलाग्दो
घीनलाग्दो
उच्चेरा गएको
दम्को परेको
न भीख थाप्ने औंला ठीक छ
न त हिँड्ने पाइताला ।
अपाहिज योद्धा-भिखारीहरुको शहरमा
दिनभरि प्रवचन दिनेहरु रातमा
रति र एफ्रोडाइटको नाइटोमा
अमृत खोजिरहेको देख्छ आँखा ।
सुन्छ कान,बढो गलत छ यो अङ्ग
सब ठीक छ नठीक त आँखा मात्र छ
आँखाको नानी
आँखाको रानी छैन
जताततै आँखाको कसिंगर छ ।
आँखा
असत्य छ ।