नयाँ दिल्ली: बलिउड अभिनेत्री तथा भाजपकी सांसद कंगना रनौत आफ्नो बयानका कारण चर्चामा रहने गर्छिन्। अब उनले पञ्जाबका पूर्व सांसद सिमरनजीत सिंह मानको दुष्कर्मको बयानमा जवाफ दिएकी छन्। उनले भनिन्, ‘आज मलाई दुष्कर्मको धम्की आइरहेको छl यसरी उसले मलाई धम्की दिएर मेरो आवाज दबाउन सक्नेछैन।‘ पञ्जाबका पूर्व लोकसभा सांसद सिमरनजीत सिंह मानले बिहीबार कंगना रनौतको बारेमा आपत्तिजनक बयान दिएका छन्। ‘कंगना रनौतसँग दुष्कर्मको धेरै अनुभव छ, हामी उनलाई सोध्न सक्छौं कि दुष्कर्म कसरी हुन्छ? ताकि मानिसहरूलाई यसको बारेमा व्याख्या गर्न सकिन्छ’, उनले भनेका थिए। वास्तवमा कंगनाले केही दिन अघि एक अन्तर्वार्तामा दिल्ली सीमामा किसान आन्दोलनका क्रममा दुष्कर्म भएको बताएकी थिइन्। यस विषयमा सिमरनजीत सिंह मानले कंगना रनौतलाई प्रहार गरेका छन्। यसैबीच कंगना रनौत आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’लाई लिएर अहिले चर्चामा छिन्। यसअघि यो फिल्म सन् २०२३ मा रिलिज हुने भनिएको थियो तर त्यतिबेला यसको रिलिज स्थगित भएको थियो। अब यो फिल्म सेप्टेम्बर ६ मा आउँदैछ। कंगनाले आफ्नो फिल्मको प्रमोशन धमाधम गरिरहेकी छिन् भने अर्कोतिर उनको फिल्मलाई लिएर विवाद भइरहेको छ। पछिल्लो समय उनलाई ज्यान मार्ने धम्की पनि आएको थियो।