भाषा संग्रामी डुवर्सका बीएम योञ्जनलाई सम्मान जनाइने
सोनादा: यसपाली गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस विभिन्न कार्यक्रमहरूबीच पालन गरिरहेको छ। यसपाली जीटीएको सूचना अनि सांस्कृतिक विभाग र शिक्षा विभागको संयुक्त आयोजनामा विद्यार्थीहरूलाई लिएर नेपाली निबन्ध प्रतियोगिता आयोजना गरेको छ। उक्त कार्यक्रमको समापन कार्यक्रम आगामी ३१ अगस्तको दिन दार्जीलिङको भानु भवनमा सम्पन्न हुने भएको छ। उक्त कार्यक्रममा निबन्ध प्रतियोगिताको विजेता, उप विजेता र दोस्रो उप विजेतालाई पनि पारितोषिक वितरण गरिने भएको छ। यसको साथै उक्त समापन कार्यक्रममा नै मुख्य रूपमा नेपाली भाषा मान्यता आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भाषा संग्रामीहरूलाई पनि सम्मान जनाइने भएको छ। यसको साथै उक्त समापन कार्यक्रममा मुख्य आकर्षणको रूपमा आकर्षणको रूपमा डुवर्सका भाषा संग्रामी बीएम योञ्जनलाई सम्मान जनाइने भएको छ। यस क्रममा उनलाई पचास हजार नगदराशिसहित अंगवस्त्र, प्रशस्ति पत्र सम्मान जनाइने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले भाषा संग्रामी बीएम योञ्जन डुवर्सका नेपाली भाषी गोर्खा समाजको मूर्धन्य व्यक्तित्व हुन् भन्दै उनसे भारतीय नेपाली भाषी गोर्खाहरूको लागि प्रशस्तै काम गरेका थिए भनी जानकारी गराएका छन्। भाषा संग्रामी बीएम योञ्जन भारतीय नेपाली राष्ट्रिय परिषदको ५१ जना सदस्यहरूमध्ये एकजना रहेको पनि बताएका छन्। सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले ३१ अगस्तमा दार्जिलिङको भानु भवनमा हुने सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवसको समापन कार्यक्रममा सबै सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।