इटहरीमा बहुला कुकुरको आतंक, जुलाई -अगस्तयता ८ पशु मरे

IMG-20240829-WA0142

झापा: सुनसरीको इटहरीमा बहुला कुकुरको आतंक छाएको छ। विगत पाँच सातामा रेबिज लागेर ८ वटा पशु मरेका छन् भने चार दर्जन पशु र तीन जना मानिस घाइते भएका छन्। घर, आँगन तथा गोठमा पसेर दुहुना पशुका साथै मानिसलाई आक्रमण गरेर कुकुरले टोक्न थालेपछि आतंक छाएको हो।
गत जुलाई २२मा पहिलो पटक कुकुर आतंक देखिएको थियो। कुकुरको टोकाइबाट इटहरीको वडा नं. १, २, ५ र २० मा गरी ४२ भन्दा बढी पशु तथा मानिस घाइते भएका छन्। तीमध्ये वडा नं. १ मा ३ वटा, २ मा ४ वटा र ५ मा एउटा पशु मरेको इटहरी उपमहानगरपालिकाका पशु शाखाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए। टोकेको थाहा भएका वा शंका भएका पशुहरुलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको उनले बताए।
गत २४अगस्तमा इटहरी वडा नं. २ मा एक जना ६ वर्षिया बालिकालाई कुकरले मुखमै नराम्रोसँग टोकिदिएको थियो। उनलाई कोशी अञ्चल अस्पताल रेफर गरिएको थियो। अहिले उनको उपचार भइरहेको छ। पशु तथा मानिसलाई टोक्दै हिड्ने दुई वटा बहुला कुकुरको पहिचान भएकोमा एउटा भने मरेको उनले बताए। अर्को एउटा कुकुरको खोजी भइरहेको र उक्त कुकुरको सम्पर्कमा आएको शंका लागेका भुस्याहा कुकुरहरुलाई समातेर भ्याक्सिन लगाउने काम भइरहेको उनले जानकारी दिए। यो कार्यमा इटहरीको बुल्स ११ क्लबले सहयोग गरिरहेको उनले बताए।
भुस्याहा कुकुरलाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिका बन्ध्याकरण गराउँदै आएको थियो। दुई वर्षमा एक हजार दुई सय कुकुरको बन्ध्याकरण गरिएकोमा गत वर्ष भने कार्यक्रम रोकिएको थियो। ‘बहुला कुकुरको आतंक सुरु भएपछि अहिले भने मेयरले पनि चासो लिएका छन र बन्ध्याकरणका साथै भ्याक्सिनेसन अघि बढाउन भनेका छन,’ उनले भने।
उनका अनुसार कतिपय पशुलाई टोकेको थाहा नपाइने र पछि लक्षण देखिन सुरु हुँदा ढिलो भएर मर्ने गरेका छन्। ‘त्यस्तै कतिपयमा भने रेबिज भाइरसको संख्या ज्यादा पुगी र प्रतिरक्षा प्रणाली कमजोर भएर पनि पशुहरु मर्ने गरेका छन्,’ उनले भने।
तीन जना मानिसलाई टोकेपनि पशुको संसर्गमा आएका अरु धेरै मानिसहरुले भ्याक्सिन लिइरहेको उनले बताए। उनका अनुसार र्याल, रगतआदिको संसर्गबाट रेबिज सर्न सक्छ। तर रेबिज भएका पशुको दुधबाट रेबिज सरेको अहिलेसम्म नपाइएकोले आत्तिनु नपर्ने उनले बताए। उनले एक्लै दुक्लै नहिड्न र बालबालिकाहरुलाई पनि हिड्न नदिन आग्रह गरेका छन्। ‘त्यस्तै कुनै कुकुर वा पशुमा रेबिजका लक्षणहरु देखिए भने उपमहानगरपालिका वा जनप्रतिनिधिहरु, कर्मचारीहरुलाई जानकारी गराइदिन अनुरोध छ,’ उनले भने।
रेबिजबाट बच्न सकिन्छ, थाहा हुने बित्तिकै भ्याक्सिन सुरु गर्दा रोगबाट बच्न सकिन्छ। तर लक्षण देखिन थालेपछि भने उपचार सम्भव छैन। त्यसैले रेबिज लागेको शंका लागेका कुकुर र पशुहरुबाट टाढा रहनु उत्तम हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement