गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम फर्केका छन्। सिक्किम फर्किने क्रममा उनलाई आज बाघडुग्रा हवाई अड्डामा सिलगढीको प्रोटोकल यूनिट, पर्यटक सूचना केन्द्र र एसटीडीका अधिकारीहरूले स्वागत गराए।
उल्लेखनीय छ, आगामी वर्षको १६ मईमा सिक्किम भारत देशको एक अभिन्न अङ्ग बनेको ५० वर्ष पुग्नेछ। उक्त अवसरमा एक वर्षव्यापी विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती पालन गरिने भएको छ। स्वर्ण जयन्ती समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन मुख्यमन्त्री दिल्ली गएका थिए। मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसँग भेट गर्दै स्वर्ण जयन्तीमा उपस्थित हुनको निम्ति आमन्त्रित गरे,जसलाई प्रधानमन्त्रीले सहस्र स्वीकार गरेका छन्।
यसरी नै मुख्यमन्त्री तामाङले पूर्वोत्तर क्षेत्र विकासका केन्द्रिय मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियालाई भेट गर्दै सिक्किमका विभिन्न जिल्लाहरूमा निर्माण हुन लागिरहेको अस्पतालको लागि आर्थिक सहयोगको निम्ति ज्ञापनपत्र पत्र पनि बुझाएका थिए।