गान्तोक: सशस्त्र सीमा बलको गान्तोक सेक्टर हेडक्वार्टरले फेरि पर्यावरण जागरुकतामाथि सशक्त कार्य चलाएको छ। गत पर्यावरण दिवसदेखि नै एसएसबीले विद्यार्थीहरु, सरकारी अनि गैरसरकारी संघ संस्थानहरुको सहकार्यमा यस प्रकारको अभियानलाई तीव्रता दिँदै आएको छ। मुख्य गरि प्रधानमन्त्री नरेन्द्र मोदी र सिक्किमका मुख्यमन्त्रीले पर्यावरण संरक्षणका लागि उठाएका प्रभावी पहललाई सक्रियता दिँदै अभियान चलाइरहेको छ। यसै क्रममा आज पर्यावरणीय संरक्षण र यसको दिगोपनलाई प्रवर्द्धन गर्ने जागरुकता गराउँदै व्यापक बिरुवारोपण कार्यक्रम चलाएको थियो। कार्यक्रमअन्तर्गत एसएसबीले मिडल क्याम्प सरकारी माध्यमिक विद्यालय गान्तोकमा विभिन्न प्रजातिका बिरुवारोपण गरेको छ। आयोजक एसएसबीले लगातार रुपमा आयोजित कार्यक्रमलाई “बिरुवारोपण अभियान-२०२४ नाम दिएको छ। यस अभियानलाई जनमानसमा पुऱ्याउने उद्देश्य राखेर विशेष विद्यार्थीहरूलाई सक्रियरुपमा समावेश गर्दै आएको छ। आजको कार्यक्रममा स्कूलका विद्यार्थीहरु, कर्मचारी, शिक्षक तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो। उनीहरुले सामूहिक रुपमा विभिन्न प्रजातिका २०५ बिरुवा रोपेका छन्। बिरुवारोपण समापनपछि उपस्थित सहभागीहरुलाई एक पेड़ माँ के नाम पर अनि मेरो रुख मेरो सन्तति नामक केन्द्र र राज्य सरकारको दुई मुख्य पर्यावरणमुखी योजनाहरुबारे पनि जागरुक गराइएको थियो। यसका साथै पर्यावऱण संरक्षणबाट हुने लाभबारे जानकारी दिइएको थियो। एसएसबीका अधिकारीहरुले हरियाली र ताजा हावाको लागि जहिले पर्यावरण संरक्षणप्रति जागरुक बन्नुपर्ने आह्वान गरेका थिए। एसएसबीले गरेको अभियानसँगै आफूले पनि घर अनि वरिपरिका खाली स्थानहरुमा बिरुवारोपण अभियान सञ्चालन गरे त्यसले राज्य अनि राष्ट्रलाई प्रशस्तै लाभ पुग्ने बताए। विद्यार्थीहरूमा बिरुवारोपणको उच्च भावनासँगै आफूले लगाएका रूखहरुको संरक्षणको लागि पनि जिम्मेवारी वहन गर्ने अधिकारीहरुले सल्लाह दिएका थिए। कार्यक्रममा पर्यावऱण संरक्षणमा सामुहिक संलग्नतालाई प्रोत्साहित गरिएको थियो।










