सिलगढी: माटिगडा पुलिस थाना अन्तर्गतको सपिङ मलमा जन्मदिनको पार्टीलाई लिएर दुई पक्षबीच झगडा भएको घटनामा पुलिसले थप दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम राजा साहनी (२५) र राहुल राय चौधरी उर्फ कौशिक (२१) रहेको छ। राजा साहनी बाग्राकोर्ट अन्तर्गत विद्यासागर कालोनीका र सिलगढीको वार्ड नम्बर ७ का राहुल राय चौधरीका बासिन्दा हुन्। उल्लेखनीय छ कि गत २१ तारिक राति उक्त सपिङ मलको क्लबमा रोहित पाठक नामका व्यक्तिको बर्थडे पार्टी चलिरहेको थियो। जसमा युवतीहरुको पनि सहभागिता रहेको थियो। त्यही क्रममा युवतीमाथि अभद्र टिप्पणी गरेको भन्दै दुई पक्षबीच झगडा भएको आरोप छ। पछि यो विवाद झगडामा परिणत भयो। झगडाका लागि बाउन्सर पनि बोलाइएको बताइएको छ। त्यसपछि रोहित पाठकले २२ तरािक माटिगडा पुलिस थानामा यस विषयमा उजुरी दिएका थिए। अनुसन्धानका क्रममा पुलिसले गत आइतबार राति धीरज र उज्ज्वल नामका दुई जनालाई पक्राउ गरेको थियो। आरोपीसँग सोधपुछका क्रममा राजा साहनी र राहुल राय चौधरीको नाम आएको थियो। यहाँ क्लबमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पुलिसले दुवैलाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको छ। यो सम्पूर्ण मामिलामा अरु को को संलग्न छन्?
पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ।









