भद्रपुर: नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ।
विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो।
त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ।
घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन्।
यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको नगर पार्टी अध्यक्ष एङराज राईले जानकारी दिए। उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ।
झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमांडूबाट हराएका थिए। त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाको घरमा बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन्।
उनलाई घरपरिवारसँग भेटाइदिने काम पत्रकार विद्या चापागाईंले गरेकी हुन्। विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन्। यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ।
झापाबाट काठमांडू आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो। अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन्।