आन्दोलन जारी रहने
खरसाङ: एचपीईयुको अगुवाईमा लङभ्यू चिया बगानका श्रमिकहरूले दैनिक ज्याला, वेतन, बोनस, एरियर, पीएफ-ग्राजुएटी सम्बन्धित मागहरू लिएर आन्दोलन गरिरहेका थिए। आन्दोलनलाई ध्यानमा राख्दै सरकारी श्रम विभागले आज त्रिपक्षीय वार्ताको चाजो मिलाएको थियो। आज एचपीईयु प्रतिनिधि साथै बगानका सयौँ श्रमिक-कर्मचारीहरू दागापुरमा अवस्थित श्रमिक भवनमा पुगेका थिए। युनियनको माग थियो – मालिक गोविन्द गर्गसँगै वार्तामा बस्ने, किनकि मालिकपक्ष र प्रबन्धनका अन्य प्रतिनिधिहरूले मालिकबिना कुनै पनि निर्णय लिन असक्षम देखिन्छन्। तर आजको वार्तामा बगान मालिक गर्ग उपस्थित थिएनन्। उनको प्रतिनिधिको रूपमा अन्य तीनजना उपस्थित थिए।
बैठकको शुरूमै सबै युनियनहरूले मालिकको उपस्थितिको माग राखे। लघभग १७ करोड बाँकी राखेका मालिक पक्षले यसबारे सही निकासको कुरा नगरेर दैनिक ठीका बढाउने अनि नोक्सानीको कुरा दोहोर्याइ रहे। १५ करोड बकाया पीएफ-को पैसामध्ये केवल ५ लाख बुझाएको जानकारी मालिकपक्षको कुराबाट सुनियो। तिनीहरूले फ्याक्टरी पनि नचलाउने कुरा गर्यो। लङभ्यू लिएर ४ सालमा ८ वटा सम्झोता भएको कुराबारे एएलसी-ले पनि अचम्म मान्दै बगान सुचारू रूपमा चलाउनुपर्छ र बकायाहरू तिर्नु पर्छ भन्ने कुरा राखे। हरियो पत्तीको किनबेचबारे पनि पारदर्शिता नभएको कुरा एएलसीले व्यक्त गरे। यस्ता समस्याहरूको समाधानका लागि त्रिपक्षीय वार्तामा मालिक हुनैपर्छ भन्ने अडान सबै युनियनहरूले राखे। चाडै मालिकको उपस्थितिसँगै त्रिपक्षीय वार्ता बोलाउने बाचा एडिसनल एलसीको तर्फबाट आयो।

आजको त्रिपक्षीय वार्ताका निम्ति लङभ्यू श्रमिकहरूले आन्दोलन स्थगित गरेका थिए। २७ अगस्टसम्म बगानमा काम सुचारू रुपमा चलिरहेको पनि थियो। तर भोलिदेखि आन्दोलन जारी रहने छ, त्यसको निर्दिष्ट रूप भोलि श्रमिकहरू भेला भएर तय गर्नेछन्। सरकारी वार्ता र आदेशको अपमान गर्ने मालिकपक्षको रवैयाको युनियनले घोर विरोध गरेको छ। लङभ्यू चिया बगानका श्रमिकहरूले पाउनु पर्ने १६ करोड ९० लाख ६३ हजार ५८८ रुपियाँ प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताइएको छ।











