भद्रपुर: तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा परी अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो। सुनसरीको इनरुवा घर भई झापाको बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउमा बस्दै आएका उनी बस स्टाफ हुन्।
बिर्तामोडका करिव २६ जनाको तीर्थयात्रीको टोली लिएर भुजेल अगस्त २० मा मथुराको वृन्दावन गएका थिए। अगस्त २७मा श्रीकृष्ण जन्माष्टमीको राति भुजेल दुर्घटनामा परेको जनाइएको छ। गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लहरीले ठक्कर दिएको बताइएको छ।
दुर्घटनापछि भुजेलसंगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। सो घटनापछि बिर्तामोडबाट गएका तीर्थयात्रीहरु अलपत्र परेको बताइएको छ। मृतकको शव आज घर आइपुग्ने छिमेकीले बताएका छन्। बिर्तामोडको बस वृन्दावनमा दुर्घटनामा परेको र तीर्थयात्रीहरु अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन्l